वि.सं.२०८३ वैशाख १० बिहीवार

ऊर्जामन्त्रीले भने,-‘कुलमानको नियुक्ती नभएसम्म पुरा अधिकारसहित जनताका गुनासो संबोधन गरौं’

khanepani

काठमाडौं । पछिल्ला दिनमा लाइन जाने क्रम बढेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा यसबारे छलफल भएको छ । नेपाल विद्युत प्राधिरकणबाट कुलमान घिसिङको बर्हिगमनापछि उपभोक्ताले लाइन जाने क्रम बढेको भन्दै सरकारको तीव्र आलोचना गरेका छन ।

कन्ट्याक्ट ट्रेसिङमा परेपछि ६ दिन होम आइसोलेसनमा बसेर मन्त्रालय फर्किएलगत्तै ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिए ।

मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिएका छन् ।

‘ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्’, मन्त्री पुनले भने, ‘नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं ।’

मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकबिहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए ।

‘समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्’, मन्त्री पुनले भने, ‘जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन् ।’

मन्त्री पुनले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएकाले त्यस्तो संवेदनशील निकायलाई एक मिनेट पनि ढिला गर्ने छुट नभएको उल्लेख गरे ।

‘तपाईंहरु संवेदनशील निकायको जिम्मेवारीमा रहेको व्यक्ति हो, त्यस्तो कार्यालयमा काम गर्नेका लागि एक मिनेट पनि ढिला गर्ने छुट छैन’, मन्त्री पुनले भने ।

उनले कोभिड-१९ का कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गरे । मन्त्री पुनले यस्तो समयमा जनतासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संवाद गर्न पनि प्राधिकरण नेतृत्वलाई निर्देशन दिए ।

मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउनेरजाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे ।

आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मन्त्री पुनले मूल नेतृत्व नभएको महसुस नहु्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिए ।

‘जति दिन निमित्त कार्यकारीका रुपमा रहनुहुन्छ । म निमित्त हुँ भन्ने सोच नराख्नुस्, तपाईं अर्को व्यवस्था नहओउञ्जेलसम्मका लागि पूर्ण अधिकारसहितको कार्यकारी हुनुहुन्छ’, मन्त्री पुनले कोइरालालाई भने ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताए । उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट गरे ।

ranechhap