काठमाडौं । ललितपुरमा थप दुईजना कोरोना भाइरस (कोभिड-१९)का संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
ललितपुर घर भएका एकजना ८० वर्षीय पुरुषको मंगलबार र अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ ।
८० वर्षीय पुरुष भदौ ६ गते उपचारका लागि मेघा अस्पतालमा भर्ना भएका थिए भने ७४ वर्षीय पुरुष भदौ १७ गते अल्का अस्पतालमा भर्ना भएका थिए ।
त्यसैगरि बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा एकजना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका-३ बनियाभारका ३९ वर्षका पुरुषको उपचारको क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेले जानकारी दिएको छ ।
मृतक स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते दिउँसो भेरी अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतामा पीसीआर परीक्षण गर्दा ३० गते उनमा कोरोना पुष्टि भएको थियो ।
भेरी अस्पताल भर्ना हुनुअघि ती पुरुषले कोरोना भएको आशंकामा २८ गते पीसीआर परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब दिएका थिए । प्रतिष्ठानले उनको रिपोर्ट नेगेटिभ दिएको थियो ।
तर स्वास्थ्यमा समस्या भएपछि उनी २९ गते भेरी अस्पताल भर्ना भए । भेरीले पुनः स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
मोरङमा उपचाररत झापा भद्रपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराट मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचाररत भद्रपुर नगरपालिका –१० का ८६ वर्षीय वृद्धको बुधबार विहान मृत्यु भएको कलेजका आइसोलेसन इञ्चार्ज सुनील देवले जानकारी दिए ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पताल आएका वृद्धलाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थियो ।
वृद्धलाई उपचारका लागि भर्ना गर्दा स्वासप्रश्वासमा समस्या देखिएको, ज्वरो आएको र जटिल खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ । उनको मिर्गौलामा पनि समस्या देखिएको थियो ।








































