सप्तरी । सप्तरी डाक्नेश्वरी-७ की संगीता मण्डललाई बलात्कार गर्ने चार जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
रञ्जित भनिने १८ वर्षीय सरोजकुमार मण्डल र बब्लु भनिने १९ वर्षीय सुमनकुमार मण्डललाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो।
उनीहरू बलात्कारका मुख्य आरोपी हुन्। अन्य दुई जना अझै फरार रहेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।
दुवै जनालाई सप्तरीको बलान-बिहुल गाउँपालिका-४ बाट पक्राउ गरिएको भारतीले बताए।
घरदेखि पाँच सय मिटर टाढा खेतमा संगीतामाथि सोमबार सामूहिक बलात्कार भएको थियो। बलात्कार भए पनि न्याय नपाएपछि उनले त्यही दिन राति घरमै आत्महत्या गरेकी थिइन्।
पञ्चायती गराएर जनहीँ २५-२५ हजार रुपैयाँ तिराउने फैसला गाउँलेले गरेपछि उनले आत्महत्या गरेकी थिइन्। पञ्चायती गराउने तीन जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।
बिहीबार राति पक्राउ बलात्कारका मुख्य आरोपी दुईसहित पञ्चायती गराउनेहरू इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको छ।









































