काठमाडौं । कोटेश्वर तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ। आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कारोबार रोक्का गरिएको हो।
काठमाडौं महानगरपालिकाको संयोजकत्वमा आज कोटेश्वरको तरकारी बजारमा अनुगमन गरिएको थियो।
कोटेश्वरका तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको र उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएरको भेटिएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए।
त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४० देखि १ सय ५० मा बिक्री गरेको पाइएपछि तिनै जना व्यापारीको कारोबार रोक्का गरिएको छ।
‘अर्को निर्देशन जारी नभएसम्म तीनै जनाको कारोबार रोक्का गरिएको छ। अध्ययन अनुसन्धानको लागि ११ बजे विभागमा उपस्थित हुन भनिएको छ,’ उनले भने।
कालोबजारी गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन अनुरूप कारबाही हुने विभागले बताएको छ। उनीहरूलाई महानगरीय प्रहरी वित्त, नयाँ बानेश्वरको निगरानीमा राखिएको छ।








































