वि.सं.२०८३ वैशाख ६ आइतवार

नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड, पिएसजीको लगातार दोस्रो हार

khanepani

काठमाडौं । फ्रेन्च लिग वानअन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) र मार्सेलीबीचको खेलको दोस्रो हाफको इन्जुरी टाइममा दुवै टिमका खेलाडी झगडामा उत्रिएका छन्।

झगडामा उत्रिएका कारण दुवै टिमका गरी पाँच खेलाडीलाई रातो कार्ड देखाइएको छ।

जसमा लिग वानको साविक विजेता पिएसजीका नेइमारसहित तीन खेलाडीले रातो कार्ड पाए। नेइमारसँगै पिएसजीका कुर्जावा र पारेडेसले रातो कार्ड पाएका थिए।

यस्तै मार्सेलीका अमाभी र बनेडेटोले पनि रातो कार्ड पाए।
रातो कार्ड पाएर मैदान छाड्दै गर्दा ब्राजिलियन फरवार्ड नेइमारले फोर्थ अफिसियलमाथि जातीय टिप्पणी गरेको बताइएको छ।

नेइमारले मार्सेलीका अल्भारो गोन्जालेजलाई इन्जुरी टाइममा पञ्च हानेपछि झगडा सुरु भएको थियो। रेफ्रीले भारमार्फत रिप्ले हेर्दै नेइमारलाई सिधा रातो कार्ड देखाएका थिए।

पञ्च हानेपछि पनि नेइमारले गोन्जालेजलाई पछाडिबाट टाउकोले हानेको देखिएको थियो। त्यसपछि दुवै टिमका खेलाडी एकअर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका थिए।

नेइमारको हर्कतपछि मार्सेलीका बनेडेटोलेले पिएसजीका पारेडेसलाई पछाडिबाट धकेलेका थिए। लगत्तै उनले पनि बनेडेटोलाई प्रहार गरेका थिए।

तनावपूर्ण खेलमा पाँच रातो कार्डसहित १७ कार्ड देखाइएको थियो। २१औं शताब्दीको लिग वानमा यो सर्वाधिक कार्ड देखाइएको खेल हो।

पिएसजीको घरेलु मैदानमा भएको खेलमा ५ हजार दर्शक उपस्थित भएका थिए।

खेलको ३१ मिनेटमा मार्सेलीले अग्रता लिएको थियो। मार्सेलीका लागि थाउभिनले गोल गरेका थिए। सोही गोल नै मार्सेलीका लागि जित निकाल्न पर्याप्त भयो।

पिएसजी लिगमा लगातार दोस्रो खेलमा हार बेहोर्‍यो। पिएसजीले सन् १९८४-८५ पछिको पहिलो पटक लिगको सुरुवाती दुई खेलमा हार बेहोर्दै अंकबिहीन बनेको हो।

ranechhap