काठमाडौं । काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार आइतबार बिहान पहिरो जाँदा बेपत्तामध्ये सात जनाको शव फेला परेको हो।
पहिरोमा अझै २४ जना हराइरहेको शेर्पाले बताए।
शेर्पाका अनुसार उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो। नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ-ठाउँमा पहिरो गएको छ।
माथि भीर र तल खेत भएको ठाउँमा पहिरो गएको उनले बताए। यसअघि पनि पहिरो जाँदा सम्भावित ठाउँहरू आँकलन गरी सुरक्षित गरिएको थियो।
तर, सम्भावना नआँकिएको ठाउँमै पहिरो गएको शेर्पाले बताए।
‘अरू ठाउँहरू हेरेका थियौं, चिरा परेका ठाउँ थिए, यहाँ पहिरो जाने सम्भावना देखिएको थिएन,’ शेर्पाले भने।
उनका अनुसार पहिरोमा १६ घर क्षतिग्रस्त छन्। घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ।
प्रहरीले भेटिएका शवहरूको पहिचान गरिरहेको छ। बेपत्ता भएकाहरूको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ।
यसैबीच सभामुख अग्नि सापकोटा पहिरो गएको ठाउँमा पुगेका छन्। पहिरोको खबर आएपछि सभामुख सापकोटा आइतबार बिहान काठमाडौंबाट गएका हुन्। यो उनको निर्वाचन क्षेत्र हो।
सिन्धुपाल्चोकमा विपद् : पहिरोमा पुरिए १८ घर, १२ जना बेपत्ता
सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएका छन् ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने । उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए ।
गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।
बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।
सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।







































