19, May, 2024

गुण्डानाइके गिरीलाई ल्याएको विरोधमा मोरङ कारागारमा प्रदर्शन

Bagmati Voice
संवाददाता
१६ कार्तिक २०७८, मंगलवार १३:५४ | २ साल अगाडी

विराटनगर । गुण्डानाइके अभिषेक गिरीलाई जिल्ला कारागार मोरङमा ल्याएपछि कैदीबन्दी र आफन्तले प्रदर्शन गरेका छन् । गत भदौ १७ गते सरुवा गरिएका गिरीलाई मंगलबार बिहान करिब ५ बजे जिल्ला कारागार मोरङमा हाजिर गरिएको थियो ।

गिरीलाई ल्याएलगत्तै कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् । कैदीबन्दीका आफन्तले कारागारको गेट अगाडि प्रदर्शन गरिरहेका छन् ।

गत भदौ १७ मा मोरङ स्थानान्तरणको निर्णय भएपनि कैदी-बन्दीका आफन्तको विरोध गरेपछि गिरीको स्थानान्तरण रोकिएको थियो । प्रहरीले उनलाई मंगलबार सुटुक्क मोरङ ल्याइएको हो ।

मोरङ जिल्ला कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले गिरी मंगलबार बिहान हाजिर भएको बताए । कारागार विभागले सोमबार बेलुका गाडीमा राखेर गिरीलाई विराटनगर पठाएको थियो ।

गिरी यसअघि पनि मोरङ कारागारमा रहँदा चौकिदार थिए । कारागारभित्र कैदीबन्दीमाथि कुटपिट र बाहिर गुण्डागर्दी गरेको गुनासो बढेपछि २०७४ साल चैतमा उनलाई डिल्लीबजार कारागार पठाइएको थियो । पुनः चौकीदार बनाउनका लागि कांग्रेस नेताहरुको दबाबमा विराटनगर स्थानान्तरण गरिएको भन्दै कैदी बन्दीले विरोध जनाएका हुन् ।

अभिषेक गिरीसँगै उनको समूहका राजु श्रेष्ठ, असित सैँजु र वन मुद्दाका कैदी मनोज कार्कीलाई विराटनगर स्थानान्तरण गर्ने निर्णय भएपनि मंगलबार गिरीलाई मात्रै ल्याइएको थियो ।

जिल्ला कारागार मोरङमा यसअघि नवीन राई चौकीदार थिए । गिरी मोरङ आउने भएपछि असोज १८ गते उनलाई झुम्का कारागार पठाएर मोरङ कारागारमा किरण गुरुङलाई अर्काे व्यवस्था नभएसम्का लागि चौकीदार नियुक्त गरिएको थियो ।

कारागार प्रशासन स्रोतका अनुसार गिरी पुन चौकीदार बन्नेछन् । प्रमुख जिल्ला अधिकारीको सिफारिसमा कारागार व्यवस्था विभागले चौकीदार नियुक्त गर्ने परम्परा छ।

१६ कार्तिक २०७८, मंगलवार १३:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading