एजेन्सी । भारत सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित भएको संसारकै दोस्रो मुलुक बनेको छ। भारत सरकारले भूमिगत रेल सेवा सुरू गरेकै दिन दक्षिण अमेरिकी मुलुक ब्राजिललाई उछिन्दै भारत धेरै संक्रमित भएको दोस्रो देशमा उक्लिएको हो। अब भारतभन्दा अगाडि अमेरिकामात्र छ।
नरेन्द्र मोदी सरकारले निरन्तर ओह्रालो लागिरहेको अर्थतन्त्रलाई चलायमान बनाउन यसअघि लगाएका सबै प्रतिबन्ध खुलाउँदै गएकाले भारतमा कोरोनाको संक्रमण घट्ने कुनै संकेत देखिएको छैन।
संसारकै दोस्रो बढी जनसंख्या भएको भारतमा सोमबारमात्रै ९० हजार बढी संक्रमित थपिएक छन्। भारतमा अहिले संक्रमितको संख्या ४२ लाख नाघेको छ। जुन ब्राजिलभन्दा ६८ हजार बढी हो। यद्यपी ब्राजिलको नयाँ संक्रमितको संख्या केही घन्टापछि मात्र अपडेट हुनेछ।
अहिलेकै दरमा संक्रमण बढ्दै जाने हो भने भारतले अर्को महिना अमेरिकालाई पनि उछिन्न सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन्। अमेरिकामा अहिले ६४ लाख ६४ हजार बढी संक्रमित छन्। अमेरिकामा पछिल्लो समय संक्रमण केही घटेको छ। भारतमा भने अगस्ट महिनाभरि निरन्तर उकालो लागेको संक्रमणको ग्राफ अहिले पनि घटेको छैन।
भारतमा सुरूमा नयाँदिल्ली र मुम्बईजस्ता ठूला सहरबाट संक्रमण फैलिन सुरू भएको थियो। अहिले भने कोरोनाको संक्रमण ग्रामीण क्षेत्रमा पनि फैलिइसकेको छ।
‘अहिले त यो दोहोरो समस्या बनेको छ,’ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक राजीव दासगुप्ताले समाचार संस्था रोयटर्ससँग भनेका छन्,’एकातिर सहरी क्षेत्रमा संक्रमण घटेको छैन भने ग्रामीण भेगमा बढेको बढ्यै छ।’









































