29, Apr, 2024

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका नाममा स्थानीय तहहरुको ठूलो रकम खर्च

Bagmati Voice
संवाददाता
२१ आश्विन २०७८, बिहीबार १६:३० | २ साल अगाडी

कैलाली । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका नाममा स्थानीय तहहरुले ठूलो रकम खर्च गरेका छन् । कोरोनाबाट प्रत्यक्ष रुपमा प्रभावित सर्वसाधारणहरू भने सामान्य मास्क, सेनिटाइजर र पहिलो लहरमा थोरै खाद्यान्न राहतस्वरुप पाए पनि अरु कुनै सहयोग स्थानीय तहबाट नपाएको गुनासो गरिरहेका छन् ।

कैलालीको गोदावरी नगरपालिकाले कोरोना महामारीको पहिलो लहरमा तीन करोड २८ लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ । तर, नगरवासी भने आफूहरुले खासै राहत नपाएको गुनासो गर्छन् । कुन मापदण्ड र के आधारमा राहत वितरण गरियो भन्ने आफूहरुलाई कुनै जानकारी नभएको उनीहरु बताउँछन् ।

गोदावरी नगरपालिका–१ का ठाकुर चौधरीले कोरोनाको पहिलो लहरका बेला मास्क, सेनिटाइजरजस्ता स्वास्थ्य सामग्री पाए पनि अरु राहत र सहयोग कार्यक्रम के थियो भन्नेबारे आफूहरुलाई कुनै जानकारी नभएको बताए । वडा नम्बर १ कै टोपबहादुर चौधरीले पनि आफूहरुले नगरपालिकाबाट आयआर्जनका कुनै कार्यक्रम नपाएको बताए । उनले भने, ‘वडाका जनप्रतिनिधिहरु अवलोकनमा आउनुहुन्थ्यो, तर सर्वसाधारणका लागि कुनै खास कार्यक्रम दिनुभएन ।’

कोरोना महामारीको पहिलो लहरमा गोदावरी नगरपालिकाले कोरोना कोषबाट उक्त रकम खर्च गरेको हो । नगरपालिकाको कोरोना कोषमा २०७७ साल असार मसान्तसम्म तीन करोड ६५ लाख ७५ हजार रुपैयाँ जम्मा भएको थियो ।

गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले कोरोना महामारीका बेला इन्धन, राहत, भाँडा वर्तन, रेनकोट, मास्क खरिद, ढुवानी, गाडी भाडा, सूचना तथा सञ्चार, क्वारेन्टाइन व्यवस्थापन र दोस्रो लहरमा राहतका लागि सो रकम खर्च भएको जानकारी दिए ।

उनले भने, ‘मेडिकल सामग्री, आरडीटी भीटीएम तथा औषधि खरिदमा मात्र एक करोड ६ लाख ४२ हजार ३९८ रुपैयाँ खर्च भएको छ ।’ उनका अनुसार विद्युतीय सामग्री खरिदमा २४ लाख ४४ हजार ४७४, पहिलो लहरको राहत तथा क्वारेन्टाइन व्यवस्थापन र खाद्यान्नमा ६६ लाख ९९ हजार ६७३ रुपैया खर्च भएको छ ।

त्यसैगरी क्वारेन्टाइन व्यवस्थापन तथा दोस्रो लहरको राहतमा ६२ लाख ७५ हजार ५३३ रुपैयाँ खर्च भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट गोदावरी नगरपालिकाले ६६ लाख ४० हजार र नगरपालिका कर्मचारी संघ, संघीय सरकार तथा सामुदायिक विद्यालयका शिक्षकबाट ४६ लाख ७१ हजार रुपैयाँ प्राप्त भएको उनले बताए ।

गोदावरी नगरपालिकाले कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापनका लागि २०७७ माघ मसान्तसम्म ३४ लाख ५६ हजार २७१ रुपैयाँ खर्च गरेको छ । प्रदेश संचित कोषबाट क्वारेन्टाइन, होल्डिङ सेन्टर निर्माण व्यवस्थापनमा १० लाख १८ हजार ७११ रुपैयाँ खर्च गरेको छ भने संघीय कोभिड कोषबाट जनशक्ति परिचालनमा तीन लाख २४ हजार रुपैया खर्च भएको नगरपालिकाको अभिलेखमा उल्लेख छ ।

सूचना अधिकारी भाटका अनुसार प्रदेश कोभिड कोषबाट औषधि एवं स्वास्थ्य उपकरण सामग्री खरिदमा १६ लाख ६२ हजार ३२० रुपैयाँ र अन्य शीर्षकबाट चार लाख ५१ हजार २३० रुपैयाँ खर्च भएको छ । गोदावरी नगरपालिकाले सबै १२ वडामा तीन हजार चार सय २८ घरधुरीका १६ हजार २३ जना परिवारलाई ४७ हजार ४८८ केजी चामल वितरण गरेको उनले बताए । सो अवधिमा १० हजार ८०३ किलो दाल, तीन हजार नौ सय ५९ पाकेट नुन, तीन हजार छ सय ३६ लिटर खानेतेल र तीन हजार ६९५ पिस साबुन वितरण गरेको उनले बताए ।

कोरोना महामारीको पहिलो लहरमा विद्यालय र सामुदायिक संस्थाहरूका १४३ वटा भवनमा क्वारेन्टाईनको व्यवस्था गरिनुका साथै गेटा मेडिकल कलेजको आईसोलेसन कक्ष र नेपाल रेडक्रस शाखाको भवनमा १२० बेडमा अक्सिजनको व्यवस्था गरिएको थियो ।

त्यस्तै, मालाखेती अस्पतालमा कोरोना संक्रमितका लागि २० बेड र तीन जना चिकित्सकको व्यवस्था गरिनुका साथै दुई वटा एम्बुलेन्सको व्यवस्था गरिएको थियो । कोरोनाको दोस्रो लहरमा कोरोना संक्रमितलाई औषधि सहितको हाइजिन किट वितरण गरिएको र संक्रमणबाट मृत्यु भएका परिवारलाई १० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

नगरपालिकाले अहिले पनि नियमित रुपमा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था गरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले चालू आर्थिक वर्षका लागि एक करोड रुपैयाँको कोरोना कोष स्थापना गरिएको जानकारी दिए । गोदावरी नगरपालिकाले मालाखेती अस्पतालमा आईसोलेसन सेन्टरसहित उपचारको व्यवस्था मिलाएको छ भने गेटा मेडिकल कलेजको कोरोना स्याहार केन्द्रको आईसोलेसनमा सहयोग गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख अवस्थीले दैनिक एन्टिजेन र पीसीआर परीक्षणका लागि नमुना संकलन गर्ने काम भइरहेको र शंकास्पद व्यक्तिलाई होम आईसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था गरिएको बताए ।

उनले भने, ‘कोरोना संक्रमित भएर निको भएका बिरामीका लागि नगरपालिकाले बीमा भुक्तानीमा सिफारिस गर्नुका साथै स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको समेत व्यवस्था गरिएको छ ।’

कोरोनाको दोस्रो लहरमा गोदावरी नगरपालिकाका प्रत्येक वडाका ५० घर बराबर एउटा कोभिड खोप प्रचार टिम पनि गठन गरिएको उनले बताए ।

गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्टका अनुसार कोरोना महामारीको पहिलो लहरमा भारतबाट आउने नेपाली नागरिकलाई क्वारेन्टाईनमा राख्ने र उनीहरुको निगरानी र चेकजाँचका लागि नगरपालिकाले टास्क फोर्स गठन गरेर काम गरेको भए पनि दोस्रो लहरमा भने भारतबाट आउने नेपालीहरुको कुनै अभिलेख राखिएको छैन ।

२१ आश्विन २०७८, बिहीबार १६:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading