काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को साताभित्रै आफ्नो मन्त्रीपरिषद्का मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न सकिने गरि बाटो खुल्ला गरेको थियो ।
दुई अध्यक्ष केपी ओली र प्रचण्डले अन्य नेतासँगको पनि परामर्शमा स्थायी कमिटीको बैठक अगाडि नै मन्त्रिपरिषद पुनर्गठन हुने बालुबाटार स्रोतले बताएको छ। उक्त स्रोतका अनुसार आउने हप्ताभित्रै प्रधानमन्त्री ओलीले मन्त्रीहरु फेरबदल जनाउ आफु निकटलाई दिएका छन ।
स्थायी कमिटीको बैठक कोरोनाका कारण त्यो भन्दा पछि बस्न सक्छ । नेकपा कार्यदलले असोजको अन्तिममा केन्द्रीय कमिटीको बैठक बोलाएर महाधिवेशनको तयारी गर्नुपर्ने प्रस्ताव गरेको छ ।
विहीबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभामा वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि अब अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमन हुने भएको छ । अब खतिवडाले सम्हालेका दुईवटा मन्त्रालय खाली हुँदैछन् ।
वर्तमान संविधानले मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीसमेत गरी २५ जनाभन्दा बढी राख्न नमिल्ने सीमा निर्धारण गरेको छ । अहिलेको मन्त्रिपरिषदमा तीन राज्यमन्त्रीसमेत २३ जना छन् । अब युवराज खतिवडा बाहिरिएपछि २२ जना मात्र हुनेछन् । यो अवस्थामा ३ जनाभन्दा बढी मन्त्री थप्ने ठाउँ छैन । मन्त्रालय पनि अर्थ, सञ्चार र शहरी विकास गरी तीनवटा मात्रै खाली रहेको अवस्था छ ।
प्रधानमन्त्री ओलीले आउने साताभित्र मन्त्रीहरुको अदली–बदली गर्ने सम्भावना रहेको नेकपा नेताहरु बताउँछन्
अहिले शहरी विकास मन्त्रालय भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङले नै सम्हालिरहेको अवस्था छ भने अर्थ र सञ्चार दुईवटा मन्त्रालय खाली हुँदैछन् ।
त्यसो त तीनजना राज्यमन्त्रीहरु, मोतीलाल दुगड (उद्योग), नवराज राउत (स्वास्थ्य) र रामवीर मानन्धर (शहरी विकास) लाई विदा गर्ने हो भने प्रधानमन्त्री ओलीले थप तीनजना गरी ६ जना फूल मन्त्री बनाउने कोटा तयार हुन सक्छ । तर, मन्त्रालयको संख्या नपुग्ने भएकाले केही मन्त्रालयहरु फुटाउनुपर्ने अबस्था आउन सक्छ।
तीनभन्दा बढी मन्त्रीहरु राख्नका लागि मन्त्रालय फुटाउनुपर्ने हुन्छ । जसो गरे पनि संविधानतः राज्यमन्त्रीसमेत २५ भन्दा बढी बनाउन मिल्दैन ।
अहिले तीनैजना राज्यमन्त्रीहरु रहेका मन्त्रालयहरुमा फूलमन्त्रीहरु कार्यरत रहेको अवस्था छ । यसले गर्दा राज्यमन्त्रीहरु कामकाजी भन्दा पनि कामचलाउ रुपमा रहेका छन् ।
अब प्रधानमन्त्री ओली पुराना र अनुभवि नतिजा दिन सक्ने मन्त्रीहरुको खोजीमा रहेको अवस्था छ । यसका लागि प्रधानमन्त्री ओलीलाई नयाँ भन्दा पनि पहिल्यै अनुभव प्राप्त गरिसकेका र नतिजा दिन सक्ने मन्त्रीहरुको खाँचो पर्नेछ ।
विशेष गरी अर्थमन्त्रीमा प्रधानमन्त्रीले कसलाई ल्याउलान् भन्ने चासो सर्वत्र छ । उनले युवराज खतिवडालाई सल्लाहकारमा नियुक्त गरेर अर्थमन्त्रालय आफैंसँग राख्ने सम्भावना पनि रहेको नेताहरु बताउँछन् । वामदेव गौतमले अर्थमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री ओली अहिलेसम्म गौतमलाई दिने पक्षमा नरहेको बालुवाटार स्रोतको दावी छ ।
प्रधानमन्त्री ओलीले पहिलो चरणमा मन्त्री भएका र नतिजा दिन नसक्ने मन्त्रीलाई सय पटक विदा दिने सम्भावना देखिएको छ । पछिल्लो पटक मन्त्री भएकाहरुको भने मन्त्रालय हेरफेर हुने सम्भावना छ ।







































