वि.सं.२०८३ असार १५ सोमवार

साढे ३३ किलो सुन काण्ड : तीन वर्ष कैद भोगेपछि निर्दोष ठहर

khanepani

काठमाडौं । तस्करीको साढे ३३ किलो सुन हराएपछि उर्लाबारीका सनम शाक्यको अपहरणपछि हत्या भयो ।

तस्करी प्रकरणका नाइके मध्येका एक चुडामणि उप्रेती ‘गोरे’ समूहले सुन खोज्ने क्रममा शाक्यको हत्या भएपछि तस्करीको र्‍याकेटकबारे अनुसन्धान सुरु भयो । गृह मन्त्रालयका तत्कालीन सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले प्रकरणमा ९ प्रहरी संलग्न भएको भन्दै पक्राउ गरेर मुद्दा चलायो।

पक्राउ परेका प्रहरीमध्ये ८ जना त्यतिवेलै धरौटी र साधारण तारेखमा छुटे । तर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री र प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत चाहिँ हालसम्म कारागारमै थिए । उच्च अदालत, मोरङले २८ भदौ २०७५ मा उनलाई थुनामै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

त्यसवेला राउतले विमानस्थल प्रहरी कार्यरत रहँदा गोरे समूहबाट १२ लाख रुपैयाँ लिएर तस्करीमा सहयोग गरेको सरकारी छानविन समितिले दाबी गरेको थियो । एसएसपी खत्रीलाई पनि ५ माघ २०७५ मा उच्च अदालतले थुनामै राखेर प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । सरकारी छानविन समितिले खत्रीले तीन पटक गरेर १ करोड १२ लाख ४२ हजार रुपैयाँ बुझेको बताएको थियो ।

अदालतले दुवै जनालाई तीन वर्षपछि सफाइ दिएको छ । उनीहरुलाई राखिएको क्षेत्रीय कारागार, सुनसरीका निमित्त जेलर राजेन्द्र कार्की भन्छन्, ‘फैसलाबारे मैले पनि सुनेँ, साँझ ५ बजेसम्म आदेश आयो भने उहाँहरुलाई कारागारबाट विदाइ गर्छौं ।’

प्रकरणमा मुछिएका पूर्वएआईजी गोविन्द्रप्रसाद निरौला, एसएसपी दिवेश लोहोनी (हाल डीआईजी), प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

के हो सुन तस्करी प्रकरण ?

२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यस प्रकरणमा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि आरोपित थिए ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।

ranechhap