काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् ।
किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । फुमिओ किशिदाले औपचारिक रूपमा जापानको नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएका हुन् ।
नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भर्खरै चुनिएका हुन् । हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताका रूपमा परिचित छन् जसले सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गतहप्ता मात्र सम्हालेका छन् ।
सोमबारको संसद्को मतदानले उनलाई प्रधानमन्त्रीमा सहजै अनुमोदन गरेको थियो। सोमबारको अनुमोदनपछि किशिदाले थुप्रै नयाँ अनुहार सहित मन्त्रिमण्डल विस्तार गरेका छन् भने केही महत्त्वपूर्ण मन्त्रालयमा भने निवर्तमान प्रधानमन्त्री सुगाको मन्त्रिमण्डलका सदस्य यथावत् राखिएका छन् । पूर्व सरकारका परराष्ट्रमन्त्री तोसिमित्सु मोटेगी र रक्षामन्त्री नोबोउ किशी यथावत् छन् ।







































