काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने ईच्छा दोहोर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् ।
आफूलाई परेको अप्ठ्यारोलाई पार लगाउन प्रधानमन्त्री ओलीले बुधबार साँझ बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । तर, कुनै निश्कर्ष निस्किएन ।
प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री ओलीले बुधबार राति नै बामदेव गौतमसँग बालुवाटार ‘गोप्य’ छलफल गरेका छन् ।
बालुवाटारमा विहीबार बिहान ११ बजे नेकपा सचिवालयको बैठक बस्दैछ । यो बैठकले राष्ट्रियसभाको रिक्त सीटमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।
प्रधानमन्त्री ओली राष्ट्रियसभाको रिक्त सीटमा अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजान चाहन्छन् । तर, उपाध्यक्ष गौतमले आफूलाई मनोनित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ईच्छामा तगारो हालिदिएका छन् ।
राष्ट्रियसभामा अहिले एउटा सीट रिक्त छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने यो सीटमा डा. खतिवडालाई नै निरन्तरता दिने र अर्थमन्त्रालय उनैको जिम्मा लगाउने प्रधानमन्त्री ओलीको चाहना देखिन्छ । तर, राष्ट्रियसभाको यो सीटमा उपाध्यक्ष गौतमले दाबी गरेपछि प्रधानमन्त्री ओली तनावमा छन् ।
विहीबार साँझको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग डा. खतिवडालाई नै राष्ट्रियसभामा पठाऔं भन्ने प्रस्ताव गरेका थिए । तर, प्रचण्डले वामदेवलाई टार्न नसकिने प्रतिक्रिया दिएपछि प्रधानमन्त्री एकाएक गम्भीर देखिएको स्रोतले बतायो ।
प्रधानमन्त्रीको निर्विकल्प रोजाइ खतिवडा
अर्थमन्त्री डा. खतिवडालाई यही भदौ २० गतेभित्र राष्ट्रियसभामा मनोनित गरिएन भने सोही दिनदेखि संविधानतः उनको मन्त्री पद समाप्त हुनेछ ।
अर्थमन्त्री खतिवडा अढाइ वर्ष पहिले अर्थमन्त्री बनेको केही समयपछि राष्ट्रियसभामा मनोनित भएका थिए । तर, गोला प्रथाबाट कार्यकाल तय गर्दा उनको भागमा दुर्भाग्यवस दुईवर्षे कार्यकालको गोलो पर्यो । सोही कारणले गत फागुन २० गते उनको सांसद पद सकियो ।
प्रधानमन्त्री ओलीले फागुनमै खतिवडालाई राष्ट्रियसभामा पुनः नियुक्त गर्न खोजेका थिए । तर, त्यसबेला सचिवालय बैठकको बहुमतले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपछि खतिवडाको पुनःनियुक्ति रोकियो । त्यसैबेलादेखि राष्ट्रियसभामा एक सीट खाली रहँदै आएको छ ।
फागुनमा राष्ट्रियसभामा पुनःनियुक्त हुन नपाए पनि डा. खतिवडा ‘सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने’ संविधानको प्रावधानअन्तरगत अर्थमन्त्रीमा पुनः नियुक्त भए । तर, उनको यो ६ महिने कार्यकाल पनि यही शनिबार सकिँदैछ ।
गत फागुनमै बसेको सचिवालय बैठकले निर्णय गरिसकेको हुनाले आफूले राष्ट्रियसभामा जान पाउनुपर्ने वामदेवको दाबी छ । तर, प्रधानमन्त्री ओली भने डा. खतिवडालाई नै सिफारिस गर्ने पक्षमा दृढ छन् ।
उपाध्यक्ष गौतमले राष्ट्रियसभा सदस्यमा मात्रै होइन, उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा समेत दाबी गरेको बालुवाटार स्रोत बताउँछ । गौतमले प्रधानमन्त्री ओलीलाई भेटेर भनेका छन्, ‘म अर्थ मन्त्रालय खतिवडाले भन्दा राम्रोसँग चलाएर देखाइदिन्छु ।’
दीपक भट्टले उचालेको आरोप
त्यसो त ओली पक्षका केही नेताहरुले चाहिँ विचौलियाका रुपमा चर्चित दीपक भट्टले वामदेव गौतमलाई उचालेर राष्ट्रियसमा सदस्य बन्न लगाएको र अर्थमन्त्री दाबी गर्न लगाएको केपी ओली पक्षका केही नेताहरुले गाइँगुइँ गर्न थालेका छन् ।
दीपक भट्टका साथमा पूर्वएमाले र पूर्वमाओवादीका दुईजना नेतासमेत बैठक बसेर वामदेवलाई राष्ट्रियसभामा जान्छु भन्न लगाएको ओली पक्षका एक नेताले बताए ।
दीपक भट्टका दाजु सुशील भट्ट यसअघि नै लगानी बोर्डमा सिईओ बनिसकेका छन् । र, यसमा प्रधानमन्त्री ओलीको नै जोडबल दिएको थियो । अहिले चाहिँ ओली पक्षले दीपक भट्टराई वामदेव गौतमसँग जोडेर भित्रभित्रै प्रचार थालेको छ ।







































