काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानेले शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएपछि निष्क्रिय भएको छ । त्यसैले हाल मुलुकमा शपथसम्बन्धी संघीय कानुन छैन ।
अधिवक्ता न्यौपानेले परराष्ट्रमन्त्री खड्काले कुन कानुनअनुसार शपथ लिएको भनी प्रश्न गर्दै भनेका छन् ‘कुन संघीय कानुन बमोजिम गरिएको हो भन्ने उल्लेख नै नगरी अथवा कानुनको स्रोतको अभावमा र कानुनले परिकल्पना गरेको कुनै ढाँचाविना असंवैधानिक तवरले गरिएको पद तथा गोपनीयताको शपथ उत्प्रेषणको आदेशबाट बदर गरिपाउँ ।’
सर्वोच्च अदालतका अनुसार यो रिटमा बुधबारका लागि पेशी तोकिएको छ ।








































