06, May, 2024

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बजार महँगी बढ्यो

Bagmati Voice
संवाददाता
७ आश्विन २०७८, बिहीबार १८:२९ | २ साल अगाडी

काठमाडौं । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बजार महँगी केही बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बिहीबार आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात् साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको बैंकले साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको बैंकले जनाएको छ । २०७७ साउनको तुलनामा २०७८ साउनमा घ्यू तथा तेल, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको मूल्य वृद्धि क्रमशः २९.०७ प्रतिशत, १०.५१ प्रतिशत, १०.१२ प्रतिशत ९.४३ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा यस्तो मुद्रास्फीति क्षेत्रगत रुपमा काठमाडौं उपत्यकामा ३.७० प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ५.६३ प्रतिशत रहि मालमा ३.५८ प्रतिशत रहेको समेत बैंकले जनाएको छ । २०७७ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३.३१ प्रतिशत, ४.०२ प्रतिशत, २.७२ प्रतिशत र ४.०७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यस्तै, २०७८ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.२५ प्रतिशत रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.३३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १.३० प्रतिशत, ५.७२ प्रतिशत र ६.१९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ११.५४ प्रतिशत रहेकोछ ।

७ आश्विन २०७८, बिहीबार १८:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading