काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो ।
र्तसहित अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने भएको हो ।
नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा अनअराइभल भिसा (आगमन विन्दुमै भिसा) दिइने छ । यसक्रममा पर्यटकले भिसाका लागि आवश्यक कागजातसहित कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण पेस गर्नुपर्ने छ । यात्रुको साथमा हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट समेत अनिवार्य हुनुपर्छ ।
पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमति समेत देखाउनु पर्नेछ । पर्यटकले नेपालमा होटेल बुक गरेको प्रमाण समेत साथमा बोक्नु पर्नेछ ।
अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकको नेपाली नियोगबाट भिसा लिएर नेपाल आउन चाहने पर्यटकको हकमा समेत कोभिड–१९ विरुद्धको खोपको मात्रा भने पूरा गरेको हुनुपर्ने सर्त राखिएको छ । यसबाहेकका अन्य सर्त यथावत हुने गरी तोकिएको छ । खोपको मात्रा पूरा नगरेका विदेशी नागरिकले भने सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिनु पर्नेछ । साथमा उनीहरुलाई एजेन्सीमार्फत मात्र भ्रमणको अनुमति दिइने छ । अर्थात खोप नलगाएका पर्यटक एकल रुपमा आउन सक्ने छैनन् । पूर्ण खोप प्राप्त नगरी नेपाल आएका पर्यटकले भने १० दिन अनिवार्य होटेल क्वारेन्टिन समेत बस्नु पर्नेछ । ११ औं दिनमा कोभिड परीक्षण गरी उनीहरु गन्तव्यमा जान सक्नेछन् ।
सबै विदेशीको अध्यागमन प्रवेश विन्दुमा एन्टिजेन परीक्षण हुने
अब सबै विदेशी नागरिकको अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण हुने भएको छ । यसरी गरिने परीक्षणमा कोरोना पोजेटिभ देखिएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा बस्नुपर्ने छ । अध्यागमन विन्दुमा यस्तो परीक्षण नभएमा भने यात्रुले होटेलमा बसी त्यस्तो परीक्षण वा पीसीआर परीक्षण गर्नुपर्नेछ । यसको नतिजा नेगेटिभ आएपछि भने गन्तव्यमा जान दिइने छ । नेपालमा हुने कोभिड–१९ परीक्षणको शुल्क विदेशी यात्रु स्वयंले तिर्नुपर्ने सर्त राखिएको छ । ट्राभल वा पर्वतारोहणमा आउने पर्यटकको जिम्मा सम्बन्धित पर्यटन एजेन्सीले लिनु पर्नेछ । पर्यटकले तोकिएको आदेश पालना नगरेमा भने प्रहरीको जिम्मा लगाउने सर्त आदेशमा राखिएको छ ।
नयाँ आदेश अनुसार कोभिड–१९ खोपको मात्रा पूरा गरेको १४ दिन पार गरेका नेपाली र गैरआवासीय नेपालीले गन्तव्यमा जान पाउने छन् । उनीहरुले ७२ घण्टा भित्रको पीसीआर परीक्षण नेगेटिभ आएको रिपोर्ट भने साथमै बोक्नु पर्नेछ । यो विदेशमा बसोबास गरिरहेका नेपाली, भ्रमणमा गएका नेपाली र गैरआवासीय नेपाली सबैको हकमा लागु हुनेछ । अध्यागमन विन्दुमा कोरोनाको लक्ष्ण देखिएमा भने उनीहरु सबैले एन्टिजेट परीक्षण गर्नुपर्छ । खोप लगाएको १४ दिन नपुगेका नेपालीले भने पीसीआर परीक्षण रिपोर्टका साथमा अध्यागमन विन्दुमा अनिवार्य एन्टिजेन परीक्षण गराउनु पर्नेछ । उक्त परीक्षणमा एन्टिजेन आएमा भने गन्तव्यमा जान दिइने भएको छ । तर, विशेष परिस्थतिका कारण नेपाल आउनु परेका नेपाली वा गैरआवासीय नेपाली र उनीहरुका परिवारलाई भने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गरी घर जान दिइने छ । विशेष परिस्थतिमा अन्तिम संस्कारमा सहभागी हुनुपर्ने, दीर्घरोगी वा उनीहरुको कुरुवा, ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र ५ वर्ष भन्दा मुनीका नाबालक र उनीहरुको अभिभावकलाई मानिएको छ ।
पर्यटन मन्त्रालयका अनुसार पूर्ण खोप लगाएको १४ दिन पुगेका कुटनीतिक नियोगमा कार्यरत कर्मचारी तथा पदाधिकारीलाई पीसीआर परीक्षणका आधारमा गन्तव्यमा जाने दिइने छ । यस्ता व्यक्तिमा कोरोनाको लक्षण देखिएमा भने विमानस्थल वा अध्यागमन विन्दुमा कोभिड एन्टिजेन परीक्षण गर्नुपर्नेछ । कुटनीतिक नियोगको सिफारिसमा नेपाल आउने विदेशीले भने १० दिन क्वारेन्टिनमा बस्ने सर्तसहित गन्तव्यमा जान पाउने छन् । कोभिड नियन्त्रणमा आउने विदेशी स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयको सिफारिसमा प्रवेश अनुमति पाउने भएका छन् । सरकारी कार्यालयको सिफारिसमा विदेश पुगेर फर्कने कर्मचारीले १० दिन होम क्वारेन्टिनमा बस्ने गरी गन्तव्यमा जाने अनुमति पाउने छन् ।
कोभिड–१९ नेगेटिभ आएको रिपोर्ट देखाएमा भारतीय नागरिकले स्थलमार्गमा प्रवेश पाउने
अब नेपाल–भारत सीमाबाट भारतीय नागरिकले समेत सहजै प्रवेश पाउने छन् । यसका लागि यात्रुको साथमा ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ । स्थलमार्गबाट नेपाल आउने तेस्रो मुलुकका नागरिकको हकमा भने खोपको मात्रा पुरा गरेको र ७२ घण्टा भित्रको रिपोर्ट साथमा हुनुपर्नेछ ।
बेखर्ची भएर फर्केका नेपालीलाई घर जान दिइने
वैदेशिक रोजगारीमा गएका तर, सम्बन्धित मुलुकले फिर्ता गरेका, विदेशबाट डिर्पोट भएका वा बेखर्ची अवस्थामा स्वदेश फर्किएका नेपालीले भने कोभिड १९ खोप पुरा गरेको अवस्थामा र ७२ घण्टा भित्रको पीसीआर परीक्षणका आधारमा घर जान पाउने छन् । खोप नलगाएको हकमा उनीहरुको एन्टिजेन परीक्षण हुने भएको छ । पोजेटिभ आएमा आइसोलेसनमा पठाइने छ । नेगेटिभ आएमा घर जान दिइनेछ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयले नेपाल प्रवेश गर्ने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनु पर्ने भएको छ । यसको स्थान छनोटको काम भने पर्यटन र गृह मन्त्रालयले गर्नेछन् ।









































