भैरहवाका रोमेश थापा मगर र दमकका कृष्णबहादुर मगर १५ वर्षअघि ब्रुनाईबाट फर्केका थिए। विदेशी भूमिमा सुख भएन, महिनौं दुःख पाए। अनि निन्याउरो अनुहार र भारी मन बोकेर फर्केका यी दुईको पहिलो भेट ब्रुनाईमै भएको थियो।
पश्चिमका रोमेश र पूर्वका कृष्ण पढ्दै कमाइ पनि गर्न पाइने सोचेर ब्रुनाई हानिएका थिए। मेसो मिले त्यहीँबाट अमेरिका वा अस्ट्रेलिया छिर्ने सपनासमेत थियो। तर दुवैको सपनालाई परिस्थितिले पछारिदियो।
उच्चशिक्षाका लागि ब्रुनाई पठाउने कन्सल्टेन्सी कम्पनीले आशा देखाएजस्तो वातावरण थिएन। उनीहरूको आठ महिना खेर गयो।
ब्रुनाईको असफल यात्रापछि उनीहरू नेपाल फर्के। तर विदेश जाने हुटहुटी मरेन। दुवैले एकअर्कालाई कोरिया जान सहयोग गरे। पहिला कृष्ण र अलिपछि रोमेश कोरिया पुगे।
कोरिया बसाइले भने उनीहरूको जीवन बदलियो। उनीहरूले सम्भावनाको नयाँ बाटो भेटे- कोरियाली कस्मेटिक उत्पादनहरू।
कोरियन सिनेमा र संगीतले विश्वभर प्रशंसक पाएको छ। संसारभरका धेरै सेलिब्रेटी अचेल कोरियन स्किन केयर (अनुहार/छालामा लगाउने उत्पादनहरू) प्रति आकर्षित हुँदै छन्। पछिल्लो समय नेपालमा पनि कोरियन खाना र कस्मेटिकप्रतिको आकर्षण दिनकै बढ्दो छ।
दासोमका सञ्चालक कृष्णबहादुर मगर
यही सम्भावना पहिल्याउँदै कृष्ण र रोमेशले कोरियाली कस्मेटिक सामान नेपाली बजारमा बिक्री गर्ने योजन बनाए।
अनि पाँच वर्षअघि सन् २०१६ मा काठमाडौंको दरबारमार्गमा खोले ‘दासोम’।
अन्नपूर्ण होटलको बगलमै रहेको दासोमको पसल पुग्नुभयो भने तपाईंको आँखा सुरूमा यहाँको पारदर्शी सिसामा देखिने आकर्षक कोरियाली मोडलहरूतिर तानिन्छ।
हामी यहाँ पुग्दा साहुजी रोमेश आफ्ना ग्राहकसँग कुराकानीमा व्यस्त थिए। यहाँ आउने जाने ग्राहकको चहलपहलले कोरोना महामारीपछि सामान्य बन्दै गरेको स्थितिको आभास दिइरहेको थियो। रोमेशको अनुहारमा लकडाउनकालीन अन्यौल हटेर उत्साहित व्यवसायीको खुसी पढ्न सकिन्थ्यो।
यस्तै खुसी मिसिएको भावमा उनले भने, ‘बिस्तारै ग्राहकआउने क्रम बढेकाले खाली बस्नु परेको छैन।’
नत्र लकडाउनयता यो पसल महिनौं बन्द रह्यो। अब त खुल्ला कि भन्दाभन्दै फेरि बन्द गर्नुपरेको थियो।
दासोमको पसल पोखरा र धरानमासमेत छ। यसका दुई सञ्चालकमध्ये रोमेश काठमाडौंमा छन् भने कृष्ण अझै कोरियामै छन्। फरक देशमा बसेर उनीहरू दासोमलाई अगाडि बढाउने प्रयासमा तल्लीन छन्।
कस्मेटिकभन्दा मेकअपका सामग्री मात्र दिमागमा आउन पनि सक्छ। कोरियाली कस्मेटिकले भने मेकअपमा भन्दा बढी छालाको स्याहारलाई प्राथमिकता दिन्छ। कोरियन स्किन केयरका नामले संसारभर यसको माग बढिरहेको छ।
रोमेशका अनुसार सहरी परिवेशमा विभिन्न कारणले मानिसमा छालासम्बन्धी जटिलता देखिने गर्छ। संवेदनशील छाला भएका मानिसले जुन पायो त्यही कस्मेटिक प्रयोग गर्दा छालासम्बन्धी समस्या देखिने गर्छ। कोरियन स्किन केयर भरपर्दो भएकाले यसले नेपालमा पनि बजार लिइरहेको उनले बताए।









































