वि.सं.२०८२ कात्तिक ३० आइतवार

नेपाल-भारत सीमाबाट अवैध रकम ओसारपसार , दुई दिनमा ३४ लाख बरामद

khanepani

रौतहट । लकडाउनका बेला नेपाल-भारत सीमा नाका अहिले बन्द छ । तर यही अवधिमा नेपाल-भारत सीमाबाट अवैध रकम ओसारपसारको क्रम बढेको छ ।

सशस्त्र प्रहरी बलले विगत दुई दिनमा रौतहटको ईशनाथ नगरपालिका–९ लवतनाबाट श्रोत नखुलेको ३४ लाख ९१ हजार ९ सय ६० रुपैयाँ बरामद गरेको छ ।

आज बिहान लवतनाबाट ईशनाथ २ औरैयाका मनोज कुमार साहलाई श्रोत नखुलेको ६ लाख ४० हजारसहित पक्राउ गरेको छ । उनले हेल्मेटभित्र सो रकम लुकाएका थिए ।

मनोज कुमार साहले हेल्मेटभित्र लुकाएर राखेको अवैध रकम
बिहीवार २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित भारतीय मोटरसाइकलमा सवार राजपुर ९ बैरियाका दिलिप कुमार साहलाई पक्राउ गरेको थियो ।

सीमा क्षेत्रमा कसरी आउँछ लाखौं रुपैयाँ ?

सीमा नाका बन्द रहेको अवस्थामा नेपाल-भारततर्फ करोडौं रुपैयाँ थन्किएको छ । नेपालसँगको कारोबार भएको सीमा क्षेत्रको बजार र आवतजावत बन्द भएका कारण सो रकम स्थीर अवस्थामा छ ।

रौतहटसँग सीमा जोडिएको भारत बिहारको बैरगनियामा मात्रै ५ करोडभन्दा बढी नेपाली रुपैयाँ जम्मा रहेको श्रोत बताउँछ । भारतीय व्यापारीहरुसँग रहेको सो रकम उनीहरु नेपालमा पठाएर नेपालमा थन्किएको भारतीय रुपैयाँ फिर्ता लग्न खोजीरहेका छन् ।

रौतहटको ईशनाथ, गौर र राजदेवी नगरपालिकाका नाकाहरु यस कामको लागि प्रयोग भइरहेको छ । ईशनाथको औरैया, मठिया, महुलिया, लवतना, गौरको महादेवपट्टी र राजदेवीको बेलबिछवा नाका यस कामको लागि प्रयोग भइरहेको छ