दैलेख । दैलेखमा मंगलबार फरक फरक घटनामा २ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
उक्त, घटनाबारे अनुसन्धान सुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । ४२ वर्षका उनको शव विद्यालयको बरन्डामा फेला परेको हो ।
प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएपनि थप विवरण भने दिइएको छैन ।
यसैबीच चामुण्डा बिन्द्रासैनी नगरपालिका –५ माछेढुंगाकी एक महिलाले आत्महत्या गरेकी छन् ।
प्रहरीका अनुसार माछेढुंगाकी ५९ वर्षकी जसू शाहीको घरदेखि करिब साढे १ किलोमीटर टाढा पर्ने जंगलको काफलको रूखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
पाँच छोरा र तीन छोरीकी आमा समेत रहेकी ती महिला भदौ १७ गते बिहान १० बजेतिर घरबाट निस्केर सम्पर्क बिहिन भएकी थिइन् ।
निरन्तर खोजतलासको क्रममा मंगलबार बिहान मात्र उनको शव झुण्डिएको अबस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि दैलेख अस्पताल लगिएको छ ।







































