वि.सं.२०८२ कात्तिक ३० आइतवार

कारागारमा कोरोना महामारीको संक्रमण फैलिएकोमा मानव अधिकार आयोगको चासो

khanepani

काठमाडौँ । मुलुकभरका कारागारमा कोभिड–१९ को संक्रमण फैलिँदै गएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौंको केन्द्रीय कारागार तथा बाँके, सुनसरी, सिराहा, पर्सालगायतका कारागारहरुमा रहेका कैदी–बन्दी तथा कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीहरुमा समेत कोभिड–१९ को संक्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले त्यस सम्बन्धमा बुधबार कारागार व्यवस्थापन विभागसँग पनि जानकारी लिएको छ । देशका ७१ वटा कारागारहरुमा हाल २१ हजारभन्दा बढी कैदी–बन्दी रहेका छन् ।

देशका अधिकांश कारागारहरुमा क्षमताभन्दा अधिक संख्यामा विगत लामो समयदेखि कैदी–बन्दीहरु रहेको आयोगको यसअघिको अनुगमनहरुबाट पाइएको आयोगले जनाएको छ । ‘कोभिड–१९ को संक्रमण बढेसँगै कारागारहरुमा अत्यधिक संख्यामा रहेका कैदी–बन्दीहरुले असुरक्षित महसुस गरी स्वास्थ्य सुरक्षा र जीवन रक्षाको लागि आयोगसमक्ष अनुरोध गरेका छन् । कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुमा समेत त्रास सिर्जना भएको पाइएको छ । बिरामी भएका कैदी–बन्दीलाई उपचार गर्न लैजाादा तथा कारागारभित्र नयाँ कैदी–बन्दी भित्रिँदासमेत कोरोनाको जोखिम उच्च रहने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।