वि.सं.२०८३ वैशाख २३ बुधवार

एमाले अध्यक्षको एमसिसि र चीन सिमानाबारे चासो, ओलीले भने, कसलाई खुसी पार्न सरकारले बनायो समिति

khanepani

काठमाडाै‍ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसिसी सम्झौताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्र मिलेर एमसिसी सम्झौता गरेको उल्लेख गर्दै अहिले चुपचाप बसिरहेकोमा आपत्ति जनाए।

नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै उनले एमसिसी झुक्याएर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए।

अध्यक्ष ओलीले एमसिसीबारे के गर्ने हो ? भनेर सरकार र सत्तारूढ गठबन्धनलाई पटक–पटक प्रश्न समेत गरे।

उनले चीनसँग हुँदै नभएको सीमा विवाद छ भनेर कसलाई खुसी पार्न खोजेको भनेर सरकारलाई चेतावनी दिए।

अध्यक्ष ओलीले भने, ‘अहिले तपाईंहरूले देख्नु भएको छ। अब चीनसँग कुनै सीमा विवाद छँदै छैन। कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनु पर्‍यो ? कसलाई खुसी पार्न ? चीनसँग सीमा विवाद छैन। यो सरकारलाई म चुनौती दिएर भन्न चाहन्छु–यो समितिले सीमा विवाद कुनै ठाउँमा देखाओस्। सीमा विवाद छैन। कसलाई खुसी पार्न। भारतसँगको सम्बन्धमा तनावग्रस्त बनाउँदै लगेको छ। चीनसँगको सम्बन्धमा तनावग्रस्त बनाउँदै लगेको छ। यिनै मान्छेहरू हुन्। कांग्रेस र माओवादी भएका बेला एमसिसी गरे। अहिले एमसिसीबारे बोल्दैन। झुक्याएर पास गर्न खोज्या होला। बोल्दैनन् । के गर्ने हो ? भन्दैनन्। जनताका अगाडि यिनीहरूले गरेको एमसिसी के भन्छन् त ? भन्नु पर्दैन। शेरबहादुर देउवाजीले भन्नु पर्दैन ? एमसिसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नु पर्दैन। हिजो साइन गर्नु भएको थियो त। के गर्ने एमसिसी ? उहाँहरू चुपचाप हुनुहुन्छ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले शिलान्यास गरेर अगाडि बढाएको सडकहरूको ठेक्का रद्द गर्ने काम गरेर वर्तमान सरकारले विकास विरोधी आफ्नो चरित्रलाई देखाएको आरोप समेत लगाए।

अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरूको जमानत जफत हुने दाबी समेत गरे।

सत्तारूढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै उनले जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारूढ गठबन्धन दललाई चुनौती दिए।

ranechhap