वि.सं.२०८३ जेठ ३० शनिवार

राताम्मे बन्यो सेयर बजार, नेप्से परिसूचक ३ हजार ७६ बिन्दुमा झर्यो

khanepani

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा पहिरो गएको छ । गत मंगलबार ५६.०३ अंकले घटेर ३ हजार १२४.८७ विन्दुमा झरेको नेप्से बुधबार थप ४८.४२ अंकले घटेर ३ हजार ७६.४४ विन्दुमा झरेको हो ।

यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ९.६७ अंकले घटेर ५६७.९९ विन्दुमा झरेको छ ।

यस दिन सबै उप–समूहहरु ऋणात्मक (नेगेटिभ) भएर सेयर बजार नै राताम्मे भएको छ । ४८.४२ अंकले घटेको बजारमा सबैभन्दा बढी यस दिन निर्जीवन बीमा कम्पनीका सेयर धनीले अधिकतम २.८४ प्रतिशतले गुमाएका छन् भने डेभलपमेन्ट बैंकका सेयर धनीहरुले २.८१ प्रतिशतले गुमाएका छन् ।

यस्तै, म्यानो एण्ड प्रोले २.२२ प्रतिशतले, जीवन बीमाले १.९६ प्रतिशतले, बैंक र होटल तथा पर्यटन समूहले समान १.४३ प्रतिशतले गुमाएका छन् ।

उच्च प्रतिफलमा आजपनि जीवन विकास लघुवित्त अग्रस्थानमा रहन सफल भएको छ । जीवन विकास लघुवित्तका सेयर धनिले आज पनि १० प्रतिशतले नाफा सुनिश्चित गरेका छन् भने कम्पनीको सेयर मूल्य बढेर ४ हजार ७२६ रुपैयाँ ३० पैसा पुगेको छ ।

एकैदिन ४८ अंक माथिले घटेको बजारमा कारोबार रकम भने गत दिनमा भन्दा यस दिन घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीका १ करोड ९५ लाख ९९ हजार कित्ता सेयर १ लाख १८ हजार बढी पटक बजारमा किनबेच हुँदा १२ अर्ब ९ करोड २१ लाखको मात्र कारोबार भएको छ । जबकी गत मंगलबार ५६ अंकले घटेको बजारमा १६ अर्ब १२ करोड ४४ लाखको कारोबार भएको थियो ।

ranechhap