कास्की । गण्डकी प्रदेशमा थप ३७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३५५ जनामा गरिएको नमूना परिक्षणमा ३७४ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये १८३ महिला र १९१ जना पुरुष रहेका छन् ।
प्रदेशका ८ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार कास्की ११०, बागलुङ ७०, स्याङ्जा ३४, म्याग्दी १०, पर्वत २८,गोरखा २७, लमजुङ २०, तनहुँमा ३४ र नवलपरासी पूर्वमा ४१ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९ हजार ४०० पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१० का ७९ बर्षिय पुरुष, स्याङजाको वालिङ –८ की ७२ बर्षिय महिला, भिरकोट–३ की ७५ बर्षिय महिला र स्याङजाकै आँधिखोला–५ का ५९ बर्षिय महिलाको मृत्यु भएको छ । मृत्यु भएको ४ जना मध्ये तीन जना स्याङजाको हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २४७ जना पुगेको छ।
गण्डकी प्रदेशमा हालसम्म ७३ हजार ८५९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६५४ पुगेको छ ।
गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २९४ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।






































