वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मृत्यु भएकामध्ये २७ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।
नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा विहान ७:१० बजे उनको मृत्यु भएको डा. दीपक कुशवाहाले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट गम्भिर अवस्थामा वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो । उच्च रक्तचाप, मुटु र दम सम्बन्धी समस्याले ग्रस्त उनको स्वाब भदौ ३ गते संकलन गरिएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भदौ ४ गते बेलुका ८ः३० बजे वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो ।
ज्वरो, श्वास प्रश्वास, टाउको दुखाइ, बान्ता, दम हुने समस्याका कारण ३१ गतेदेखि उनको अलि अर्थोमा उपचार भइरहेको थियो । वीरगञ्ज हेल्थ केयरमा गम्भिर अवस्थामा ६ जना संक्रमित रहेको र २ जनाको स्थिति एकदमै जटिल रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
यसैगरि चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका कोरोना संक्रमित एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ तीन गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।
उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको छ ।
उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
कोरोना संक्रमित भएर चितवन जिल्लाका तीनसहित अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । बाँकी दुई जनामध्ये एक जना कैलाली र अर्को मकवानपुरका हुन् ।







































