वीरगञ्ज । बारामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो । अस्पतालमा पुर्याएलगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहका अनुसार बिरामीलाई अस्पताल ल्याइए पुर्याइको भएपनि उपचार भने गर्न नभ्याइएको बताए ।
त्यसैगरि रुपन्देहीको देवदहमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह मेडिकल कलेज भलुहीमा उपचाररत देवदह नगरपालिका(३ स्थित शिशपुरका ७० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो ।
देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशिनाथ बञ्जाडेका अनुसार बुधबार मात्रै ती पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । मृतकमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो । केही दिन अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराएका उनको देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको निधनपछि कलेजलाई शिल गरी उपचारमा संलग्न चिकित्सकहरुलाई सेल्फ आइसोलेसनमा राखिएको र शिशपुर क्षेत्रमा पनि आवतजावत रोकिएको बन्जाडेले जानकारी दिए ।
‘श्वास फेर्न गाह्रो भयो भनेर अस्पताल ल्याउनुभएको रहेछ,’ उनले भने, ‘तर अस्पताल ल्याउन ढिलो गरेका कारण उपचार सुरु गर्न नपाउँदै उहाँको मृत्यु भयो ।’
मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी नारायणी अस्पतालले दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले संक्रमित मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको जानकारी दिए ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुने बाराका मात्रै ५ जना पुगेको छ । कुल ३२ जनाको मृत्यु भएकोमा २३ जना पर्साका र २ जना रौतहटका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।









































