वि.सं.२०८२ माघ ३ शनिवार

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका लागि चर्को दौडधुप, घिसिङ र शाक्य मध्ये एक पक्क

khanepani

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ भदौ २९ गते कार्यकारी निर्देशक भएर देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका घिसिङको ४ वर्षे कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्वको लागि केहि मानिसहरुले दौडधुपलाई अस्वभाविक बनाउन थालेका छन ।

प्राधिकरणका वर्तमान र पूर्वअधिकारीहरुसँगै अन्य सरकारी अधिकारी पनि घिसिङले छाड्न लागेको कुर्सीको दौडमा छन् । कतिपय दावेदारले प्रधानमन्त्री निकटका नेताहरुसँग भेटघाट बढाएका छन् ।

सरकारले पुनः जिम्मेवारी दिए थप एक कार्यकाल प्राधिकरण हाँक्न घिसिङ आफैं पनि इच्छुक छन् । लोडसेडिङ हटाएपछि प्राधिकरणसामु आएका ठूला चुनौतीहरुको विश्लेषण गरेर सरकारले जिम्मेवारी दिए आफू कार्यकाल दोहो¥याउन तयार रहेको घिसिङले बताउने गरेका छन् ।

यद्यपि, प्राधिकरणमा भित्रिने जोडबलमा लागेका उमेदवारहरु हेर्दा घिसिङको दोहोरिने सम्भावना न्युन रहेको पछिल्ला चलखेलका जानकारहरु बताउँछन् ।

हुनपनि, विद्युतको नेतृत्वमा आउन पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञावाली नै लागिपरेको चर्चा अझै सेलाइसकेको छैन । हुन त यसबारे समाचारहरु आएपछि उनले आफू त्यो दौडमा नरहेको भन्दै समाजिक सञ्जालमार्फत खण्डन गरेका छन् ।

उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि आवेदन दिएर अन्तरवार्ताका लागि छानिइसकेपछि ‘प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अनुसार’ पछि हटेका थिए ।

लगानी बोर्डमा सुशील भट्ट र विद्युत प्राधिकरणमा ज्ञवालीलाई नियुक्त गर्ने गरी मिलाइएको चर्चा थियो । सामाजिक सञ्जालमा भने ज्ञवालीले त्यसलाई नकारेका छन् । विद्युत प्राधिकरणमा नियुक्तिका लागि उनको लबिङ भने नरोकिएको नेकपा स्रोत बताउँछ ।

प्राधिकरणको नेतृत्वमा आउन चाहेका अर्का पात्र विद्युत विकास विभागका महानिर्देशक नवीन सिंह हुन् । लामो समयदेखि विद्युत विकास विभागमा रहेका उनलाई प्राधिकरण मात्र हैन, ऊर्जा मन्त्रालयका कर्मचारीले पनि खासै रुचाउँदैनन् ।

विभिन्न जलविद्युत आयोजनाको लाइसेन्स वितरणमा चलखेलको आरोप खेपेका सिंहले प्राधिकरणको नेतृत्व पाउने सम्भावना कम रहेको मानिन्छ । कमजोर कार्यसम्पादनका कारण हटाइएका सिंह पछि कुनै तरिकाले विद्युत विकास विभाग फर्कन सकेका थिए । अहिले उनी विद्युत प्राधिकरणको नेतृत्वका लागि नेता रिझाउन लागिपरेको स्रोत बताउँछ ।

यसबाहेक प्राधिकरणका पूर्वकार्यकारी तथा उपकार्यकारी निर्देशकहरु पनि प्राधिकरण फर्कन इच्छुक छन् । उनीहरुले दलका नेताहरुसँगको भेटघाट बढाएका छन् । यो दौडमा सबभन्दा बढी पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले कस्सिएको मन्त्रालय स्रोत बताउँछ । स्रोतका अनुसार, उनी पाएसम्म आफैं, नभए आफ्ना विश्वासिला पूर्वउपकार्यकारी निर्देशक शेरसिंह भाटलाई ल्याउन कस्सिएका छन् । यद्यपि भाटले भने आफू यो दौडमा नरहेको सार्वजनिक रुपमा स्पष्ट पारिसकेका छन् ।

प्राधिकरणकै केही बहालवाला अधिकारी पनि कार्यकारी निर्देशकका रुपमा काम गर्न इच्छुक छन् । उनीहरु खुलेर लबिङमा भने लागेका छैनन् । कुलमान घिसिङले दोहोरिने इच्छा देखाएपछि उनको टिममा काम गरेका बहालवाला उपकार्यकारी निर्देशकहरुलाई खुला पहल गर्न अप्ठेरो परेको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि कार्यकारी निर्देशक बन्ने दौडमा छन् । बालुवाटार शाक्यलाई कार्यकारी निर्देशक बनाउने सोचमा रहेको समाचार स्रोतले दावी गरेको छ ।

कुलमानको पुनः नियुक्तिको चर्चा

सामाजिक सन्जालमा घिसिङलाई अर्को कार्यकालका लागि पुनः नियुक्ति गर्नुपर्ने माग उठेको छ । भदौ १ गते भएको प्राधिकरणको ३५औं वार्षिकोत्सव कार्यक्रममा आधिकारिक ट्रेड युनियनले समेत घिसिङलाई अर्को कार्यकाल पनि काम गर्न दिन माग गरेको थियो ।