काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेका काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताएका छन् ।
जसपाको आधिकारिकता नपाएपछि सर्वोच्च अदालतमा मुद्दा लडिरहेका अध्यक्ष ठाकुरले मधेशको माग सम्बोधन गराउनु आफ्नो गल्ति थियो भने यस्तो गल्ति र त्रुटी सधैं गरिरहने समेत बताएका छन् ।
ठाकुरले बुधवार राति लामो र भाबुक वक्तव्य जारी गर्दै भनेका छन्, ‘के नागरिकताको लागि अध्यादेश ल्याउ लगाउनु त्रुटी हो रु के संविधान संशोधनको निम्ति कार्यदल बनाउन लगाउनु त्रुटी हो रु के उत्पीडित जनजाति र समुदायहरुको पहिचान र अधिकारको निम्ति माग मुद्दा सम्बोधन गराउन सरकारसँग सहकार्य गरि दबाब दिनु अपराध हो रु यदि हो भने जनताको हितका लागि यस्ता गल्ति, त्रुटी र अपराध हामी बारम्बार गर्न तयार छौं ।’
ठाकुरले उपेन्द्र यादवमाथि प्रश्न उठाउँदै ‘आफू १८ महिना केपी ओलीको सरकारमा बस्दा माग मुद्दाको सबालमा एउटा सिन्को भाँच्न नसक्नेले हामी १८ दिनमै माग मुद्दाहरु पूरा गराउँदा हामीतिर औंला देखाइरहेका छन्’ भन्दै जनतालाई जवाफदिन तयार हुनुपर्ने बताएका छन् ।
निर्वाचन आयोगले जसपा फुटाएकोमा आपत्ति जनाउँदै ठाकुरले उपेन्द्र यादवले आत्मालोचना गरेर गल्ती स्वीकार गरे जसपामा स्थान दिने भनेकोमा समेत तीव्र आक्रोश व्यक्त गरेका छन् । उनले मधेशका माग मुद्दा सम्बोधन गराउनु आफ्नो गल्ती नभएको भन्दै यादव समक्ष आत्मसमर्पण नगर्ने समेत प्रष्ट पारेका छन् ।









































