05, May, 2024

दार्चुला जिल्ला अदालतले बलात्कारको मुद्दाका अभियुक्त गाडी चालकलाई उन्मुक्ति दिँदै सहचालकलाई मात्रै जेल

Bagmati Voice
संवाददाता
१२ श्रावण २०७८, मंगलवार १४:१५ | २ साल अगाडी

दार्चुला । दार्चुला जिल्ला अदालतले बलात्कारको मुद्दाका अभियुक्त गाडी चालकलाई उन्मुक्ति दिँदै सहचालकलाई मात्रै जेल सजाय तोकेको छ । १४ वर्षकी बालिकालाई दिनभरि गाडीमा घुमाएर राति गाडी चालकको डेरामा लगी चालक र सहचालकले पालैपालो बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलमार्फत दार्चुला जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

२०७७ सालको सो घटनाबारे सोमबार दार्चुला जिल्ला अदालतले फैसला सुनाउँदै १९ वर्षीय सहचालक सन्तोष महरलाई मात्र दोषी देखाएको छ । २७ वर्षीय चालक सन्तोष बिष्टलाई भने उन्मुक्ति दिइएको छ ।

सोमबार जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजंग शाहको एकल इजलासले यस्तो फैसला सुनाएको हो । फैसला चित्तबुझ्दो नभएको भन्दै सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको पीडित पक्षको भनाइ छ ।

पीडित बालिकाका अभिभावकले प्रहरीमा दिएको जाहेरीअनुसार बर्ष १४ की बालिका ०७७ माघ २८ गते बिहान दिदीको घरबाट आफ्नो घर जान्छु भनी गाडी कुरेर बसिरहेकी थिइन् । त्यहीबेला सहचालक सन्तोष महरले ललाई–फकाई मालिकार्जुन सिमलगैरको होटलमा पुर्याएका थिए ।

पछि सहचालक सन्तोष महर पुनः उक्त होटलमा आए । त्यहाँबाट उनलाई गोकुलेश्वर बजारमा रहेको अर्को होटलमा लगी जबरजस्ती करणी गरे । त्यसपश्चात गाडी चालक सुरेश बिष्टको डेरामा समेत लगेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

सहचालक सन्तोष महरको बयान

मिति २०७७।०९।२७ गते राति ८.०० बजे गोकुलेश्वरको जिप पार्क नजिक मेरो पीडितसँग भेट भई सोही बजारको पेट्रोल पम्प नजिक रहेको न्यू बिबेक होटलमा बसी पीडितकै सहमतिमा राति २ पटक अस्थायी साधन (कन्डम) प्रयोग गरी यौन सम्पर्क राखेको हुँ ।

भोलिपल्ट बिहान दुबै जनाले होटलमा खाना खाएको र कोठा भाडा गरी जम्मा रु. १ हजार ५०० मैले होटल साहुलाई दिएको थिएँ । पछि पीडितले म दिदीको घर मालिकार्जुन जान्छु भन्दा निजलाई मैले गाडी भाडा भनेर ५ सय रुपैयाँ दिई दार्चुला आउने बसमा पठाएको हुँ ।

मिति २०७७।१०।०५ गते बेलुकी अञ्दाजी ४ बजे सुरेश विष्टको जिपमा बसी बलाँच जाने दुईजना सवारी राखी उक्त स्थानतर्फ जाने तयारी गरिरहेका बेला पीडित आउँदा सुरेश बिष्टले मलाई त्यो केटीलाई पनि गाडीमा राख, घुमाउन लैजाउँ भनेकाले मैले पीडितलाई जिपमा बस्न लगाई मसमेत जिपमा बसी बलाँचतर्फ गएका थियौं ।

चालक सुरेश बिष्टले गाडी बुक गरी लगेका दुईजनालाई बलाँचमा छोडेपछि म अर्को जिपमा गोकुलेश्वरतर्फ आएको थिएँ । सुरेश बिष्टले पीडितलाई सोही जिपमा राखी गोकुलेश्वरतर्फ आएका थिए ।

साँझ अन्दाजी ८ बजे पुनः मेरो सुरेश बिष्ट र पीडितसँग जिप पार्कमा भेट भई तीनैजना सुरेश विष्टको जिपमा बसी निजको गाँजरीमा रहेको डेरा कोठामा बसेका थियौं ।

हामीहरु कोठामा पुग्ने बित्तिकै मैले सुरेश बिष्टलाई एकछिन तिमी बाहिर जाउ, हामीहरुको काम छ भनें । पछि तँ आउलास् भनी पीडितलाई कोठामा राखी निजसँग एकपटक यौन सम्पर्क गरेको थिएँ । अन्दाजी ०९ः३० बजे म पीडितलाई कोठामा नै छोडी बाहिर आउँदा सुरेश बिष्टले अब तँ जा, राति म सुत्छु भन्दा म आफ्नो घरमा गई सुतेको थिएँ ।

बिहान सुरेश बिष्टले मलाई पटक–पटक फोन गरी तिमीसँग काम छ, छिटो मेरो कोठामा आउ भन्दा ७ बजेतिर म घरबाट उसको कोठामा पुग्दा दुई जना प्रहरी, सुरेश बिष्ट र पीडित तहाँ थिए ।

म पुग्नेबित्तिकै पीडितले मलाई यही हो भन्दा प्रहरीले मलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा लगेका हुन् । सुरेश बिष्टले समेत उक्त राति निजकै कोठामा पीडितलाई करणी गरेकाले घटनामा निज (गाडी चालक) को समेत संलग्नता छ ।

गाडी चालक सुरेश विष्टको बयान

मिति २०७७।१०।०५ गते बेलुकी अन्दाजी ४ बजे गोकुलेश्वरबाट पीडितलाई गाडीमा बस्न लगाई बलाँचतर्फ गएका थियौं । बलाँच पुगेपछि सन्तोष महर अर्को जिपमा गोकुलेश्वरतर्फ आएका थिए भने मैले पीडितलाई मेरै जिपमा राखी गोकुलेश्वर ल्याएको थिएँ ।

साँझ अञ्दाजी ८ बजे म गोकुलेश्वर जिपपार्कमा पुग्दा सन्तोष महर समेत सो स्थान पुगी पीडितलाई मेरो कोठामा लैजाउँ भनेपछि तीनैजना जिपमा गाँजरीस्थित मेरो डेरा/कोठामा गएका थियौं ।

म नजिकै रहेको पसलमा चुरोट खान गएको थिएँ । अन्दाजी आधा घण्टापछि म कोठामा जाँदा सन्तोष महरले पीडितलाई मेरै कोठामा छोडी घरमा जान्छु भनेको हुँदा सो बखत निजले पीडितलाई करणी गरेको हुनुपर्दछ । त्यसपछि पिडतलाई मैले पनि शारीरिक सम्पर्क गर्न दिने हो ? भन्दा निजले पैसा दिने भए मात्र हुन्छ, नत्र हुँदैन भन्दा तत्काल मैले निजलाई दुई हजार दिँदा एक हजार मलाई फिर्ता दिएकी थिइन् ।

पछि मैले पीडितलाई मेरै खटियामा सुताई निजकै सहमतिमा कुनै पनि अस्थाई साधन प्रयोग नगरी एकपटक यौन सम्पर्क गरेको थिएँ ।

राति अन्दाजी साढे १० बजे पीडितले अब म तेरो कोठामा बस्दैन, बजार जान्छु भनी मेरो डेरा/कोठाबाट गएकी हुन् ।

बिहान अन्दाजी ६ बजे दुईजना प्रहरी म सुतेकै अवस्थामा मेरो कोठामा आई मलाई बोलाउँदा बाहिर आई हेर्दा पीडितलाई पनि देखेको थिएँ । अन्दाजी ७ बजेतिर सन्तोष महर मेरो कोठा अगाडि आउँदा पीडितले प्रहरीलाई यही केटा हो भनी देखाएपछि प्रहरीले सन्तोष महरलाई नियन्त्रणमा लिई सबै जनालाई मेरै जिपमा राखी ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा पुर्याएको थियो ।

मिति २०७७।१०।१३ गते म मेरो जिप ल्याई दार्चुला आएका बेला प्रहरीले मलाई पक्राउ गरेका हुन् । वारदातको राति घटनामा म र सन्तोष महर बाहेक अरु कुनै–कसैको संलग्नता छैन ।

१२ श्रावण २०७८, मंगलवार १४:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading