वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेपाली कांग्रेसमा १४ औं महाधिबेशनको रन्को शुरु, निधिले देउवालाई भने -‘म सभापति उठ्ने हो, सहयोग गर्नुस्’

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा आफू सभापति उठ्ने जानकारी गराएका छन्।

देउवालाई उक्त जानकारी दिन निधि गत बिहीबार उनको निवास बुढानिलकण्ठ पुगेका थिए। करिब दुई घण्टा देउवा र निधिबीच ‘वान टु वान’ कुराकानी भएको थियो।

फागुन ७ हुने यहि महाधिवेशनमा आफू सभापति उठ्ने तयारी गरेकोले अहिलेदेखि समर्थन गरी सघाउन निधिले सभापति देउवालाई भेटेरै जानकारी गराएको स्रोतको दाबी छ।

भेटमा सभापति देउवाले यो महाधिवेशनमा आफूलाई नै सघाउन निधिलाई आग्रह गरेका थिए।

‘जवाफमा सभापति देउवाले यो महाधिवेशनमा त म नै उठ्ने हो, बरू बलियो साथ चाहिन्छ भन्नुभएको थियो,’ देउवा-निधि भेटबारे स्रोतले भने, ‘अर्को चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी अगाडि बढ्न तपाईंलाई नै सघाउन अब सम्भव छैन। सर्वसम्मत नेतृत्व चयनका लागि मलाई समर्थन गर्नुहोस्।’

कांग्रेस महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गरेर अगाडि बढ्न सके मात्रै अब आउने चुनावमा कांग्रेस पहिलो पार्टीका रूपमा फेरि उदाउने निधिको भनाइ थियो।

‘महाधिवेशनपछि आउने नेतृत्वले अब तीनै तहका चुनावमा कांग्रेसका पक्षमा माहौल सिर्जना गर्नुपर्ने जिम्मेवारी रहन्छ,’ निधि-देउवासँगको कुराकानीबारे उक्त स्रोतले भन्यो, ‘घात, अन्तरघातलाई रोक्न पनि महाधिवेशन सर्वसम्मत गर्नुपर्छ। पार्टी एकढिक्का बन्यो भने मात्रै मुखमा आएका चुनाव कांग्रेसको पक्षमा आउनेछ।’

भेटमा निधिले देउवाकै साथ र समर्थनमा आफू सभापति उठ्न चाहेको बताएका थिए।

‘म सभापतिमा चुनाव उठ्छु। तपाईंकै समर्थन लिएर उठ्ने हो,’ निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘१३ औं महाधिवेशनमा कोइरालाहरूबाट पार्टी नेतृत्व फुत्काउनु पर्‍यो भन्ने सहयोग मागेर सहयोग पनि गरेकै हुँ। त्यसबेला नै १४ औं महाधिवेशनमा मलाई सघाउने तपाईंको बचन थियो, सम्झनुस्। म उपसभापति भइसकेँ स्वभाविक रूपमा अब सभापति उम्मेदवार हुँ, पर्खने समय छैन।’

निधिका कुरा सुनेपछि देउवाले योपटक आफू नै सभापति बन्ने बताएका थिए। ‘यसपटक मलाई नै समर्थन गर्नस् न,’ देउवाको भनाइ थियो, ‘यसपछि हाम्रो समूहबाट तपाईं नै त हो नेता अरू को छ र ? हतार किन गर्नुहुन्छ?’ देउवाले १५ औं महाधिवेशनमा सभापति उठ्न निधिलाई आग्रह गरेका हुन्।

‘तर निधिले सभापतिका कुरा मान्नु भएन। हिड्ने बेला सभापतिलाई म सभापति उठ्ने नै हो, तपाईंले सघाउनुपर्छ। तपाईंकै समर्थनमा म उठ्ने हो भन्ने कुरा दोहोर्‍याएर निस्कनुभएको हो,’ स्रोतले भन्यो।

यसबाट देउवालाई आफ्नै गुटबाट महाधिवेशनमा अप्ठेरो पर्ने देखिएको छ।

‘गगन थापालगायत युवा नेताले नेतृत्व छोड्नुस् भन्दा देउवाले किन छोड्ने भन्दै आक्रमक हुनुहुन्थ्यो। तर निधिले नेतृत्वका लागि ठाउँ खालि गर्न गरेको प्रस्तावमा देउवा त्यति धेरै आक्रमक देखिनुभएन। उहाँले यसलाई गम्भीर रूपमा लिएको हुनुपर्छ, निधिको सहयोगविना त अप्ठेरो छ भन्ने उहाँले बुझ्नुभएकै होला’ स्रोतले भन्यो, ‘अस्तीको छलफलमा मेरो भाग खोस्न आयो भन्नेजस्तो गरी देउवा आक्रमक हुनुभएन।’

निधिले आफू सभापतिमा उठ्ने तयारीबारे कांग्रेसका प्राय: सबै शीर्ष नेतालाई भेटेर जानकारी गराइसकेका छन्।

‘अब सभापति उठ्ने इच्छा भएकालाई यो कुरा झस्को पस्यो नै,’ कांग्रेसका एक नेता भन्छन्, ‘स्वयम देउवालाई नै प्रेसर क्रियट भएको छ।’

उपसभापति निधिले अब पार्टीको नेतृत्वमा युवा नेताहरू विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेल, धनराज गुरूङलगायत आउने भएकोले १५ औं महाधिवेशनसम्म पर्खंने समय नभएको भन्दै तयारी सुरू गरेका हुन्।

निधिले युवा नेता पार्टीमा अब आउने र त्यसबाट आफ्नो पालो समेत अब नआउने स्थिति पैदा हुनेबारे देउवालाई राम्रोसँग बुझाउने कोसिस गरेको ती नेता बताउँछन्।

‘सभापतिले भनेजस्तो १५ औं महाधिवेशनसम्म कुर्न सकिन्न। अब विश्वप्रकाश, गगनलगायत आउँछन्,’ निधिलाई उद्धृत गर्दै स्रोत भन्छ, ‘सभापतिले १५ औं महाधिवेशनमा मात्रै उठ् भनेका कुरामा पुनर्विचार गर्नुपर्छ। १४ औं महाधिवेशनमै सहयोग गर्नुपर्छ।’

देउवासँग कुराकानी गरेर सिधै निधि पौडेल निवास बोहराटार पुगेका थिए।

ranechhap