वि.सं.२०८२ वैशाख १० बुधवार

क्रियाशील सदस्यता छानविनमा चनाखो हुन पौडेल समूहको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनलाई प्रभावित पार्ने गरी संस्थापन समूहले क्रियाशील सदस्यता वितरण गरेको दावी गरेको छ ।

अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई आफूखुसी ठूलो संख्यामा क्रियाशील वितरण गरिएको पौडेल समूहको आरोप छ ।

बिहीबार काठमाडौंमा पौडेल समूहले पार्टी समायोजन समिति र क्रियाशील सदस्यता छानविन समितिमा रहेका आफूनिकट नेताहरुसँग छलफल गर्दै क्रियाशील सदस्यताबारे छलफल गरेको हो ।

समायोजनका नाममा आएका क्रियाशील सदस्यतालाई लिएर छानविन समितिमा धेरैको उजुरी परेपछि पौडेल समूहको बैठक बसेको हो । अन्य पार्टीबाट आएका नेताहरुलाई संस्थापन पक्षले प्रक्रिया उल्लंघन गरेर क्रियाशील सदस्यता वितरण गरेको पाइयो,’ बैठकमा सहभागी एक नेताले बताए , ‘जति पनि उजुरी परेका छन्, त्यसमा चनाखो भएर छानविन गर्न हाम्रो टीमका साथीहरुलाई आग्रह गरेका छौं ।’

सात सदस्यीय क्रियाशील सदस्यता छानविन समितिमा पौडेल समूहबाट केन्द्रीय सदस्य जीवन परियार र कल्याण गुरुङ सदस्य छन् । त्यस्तै कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेल समितिमा छन् । बैठकमा परियार, गुरुङसँगै सिटौला समूहका पौडेल पनि सहभागी थिए ।

समिति सदस्य परियारले अहिलेसम्म क्रियाशील सदस्यता छानविन र परेका उजुरीबारे छलफल भएको बताए । ‘हामीले अहिलेसम्म जति पनि काम भएको छ, त्यसका बारेमा जानकारी गरायौं,’ उनले भने, ‘सहमती भएकालाई टुंग्याउँदै लैजाने र विवाद नटुंगिएकालाई थाँती राख्ने काम भएको छ । असारभित्र सदस्यताको काम सकिन्छ भनेर जानकारी गराएका छौं ।’

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको सिफारिसमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका केन्द्रीय नेताहरुलाई क्रियाशील सदस्यता दिने निर्णय भएको थियो ।

पौडेल समूहको छलफलमा बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा रामशरण महत, अर्जुननरसिंह केसी, डा। मिनेन्द्र रिजाललगायत सहभागी थिए ।

त्यस्तै समायोजन समितिमा रहेका नेताहरु दिलेन्द्र प्रसाद बडु र दीपक गिरी पनि छलफलमा सहभागी थिए । केन्द्रीय सदस्य गिरीले क्रियाशील सदस्यताका बारेमा जानकारी लिने काम भएको बताए । समिति सदस्य परियारका अनुसार बिहीबारसम्म ५५ जिल्लाको विवाद टुंगो लागेको छ ।