वि.सं.२०८२ वैशाख ६ शनिवार

जितेन्द्र साहको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ

काठमाडौं । महोत्तरीको जलेश्वर घर भएका जितेन्द्र साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका – ३ का साहिल गोपाली रहेका छन् । उनी सोमबार चन्द्रागिरि नगरपालिका–८ मातातिर्थबाट पक्राउ परेका हुन् ।

यसअघि प्रहरीले साहको हत्या आरोपमा चन्द्रागिरि – ३ थानकोटका सोमलाल गोपाली र , मकवानपुरको दामन–९ घर भई चन्द्रागिरि–१ दहचोक बस्ने २५ वर्षीय मनोज दोङ तामाङलाई नियन्त्रणमा लिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार साहलाई असार २० गते चन्द्रागिरि–३ थानकोटमा उनीहरुले धारिलो हतियार चक्कु प्रहार गरेका थिए । घटना भएको २४ घण्टाभित्र तीनै जनालाई नियन्त्रणमा लिएको बस्नेतले बताए ।

जलेश्वर नगरपालिका – २ घर भएका २० वर्षीय साह चन्द्रागिरि –३ थानकोटस्थित मंगलोदय स्कुल नजिक बस्दै आएका थिए ।
चक्कु प्रहारबाट घाँटी र ढाडमा गम्भीर चोट लागेका साहको राष्ट्रिय ट्रमा सेन्टरमा उचपारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मोबाइल फोनमा प्रयोग हुने मेमोरी कार्डको विषयमा विवाद हुँदा साहमाथि चक्कु प्रहार भएको हुन सक्ने देखिए पनि उनीहरुमाथि थप अनुसन्धान भइरहेको बस्नेतले बताए ।