काठमाडौं । प्रहरीले बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बूढानीलकण्ठ नगरपालिका ७ बस्ने ५९ वर्षीय लाक्पा लामालाई काठमाडौंको चक्रपथबाट पक्राउ गरेको हो ।
ब्युरोका एसपी श्याम कुमार महतोका अनुसार लामालाई उच्च अदालत पाटनले २०७७ साल माघ ९ गते बैंकिङ्ग कसूर मुद्दामा ७ दिन कैद र १५ लाख जरिवाना सुनाएको थियो ।
२०७५ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर जनता बैंकमा रहेको खाताबाट पीडितलाई भुक्तान हुने गरी १५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको एसपी महतोले बताए ।