वि.सं.२०८२ वैशाख १० बुधवार

भिरमा भेटियो सुजिता भण्डारीको शव, आफन्तले गरे राजमार्ग अवरूद्ध

काठमाडौ । काठमाडौ चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ बर्षा सुजिता भण्डारीको शव भिरमा फेला परेको छ।

राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनको भिरालो जमिनमा भण्डारीको शव आइतबार फेला परेको थियो।

उक्त शव सोमबार प्रहरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउँदैछ। सो क्रममा भण्डारीका परिवार र आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध पारेका छन्।

युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरुले प्रहरीविरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका हुन् ।

राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ ।

वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा फेला परेको शवको सुजिताका आफन्तले पहिचान गरेका थिए ।

भण्डारी बेपत्ता भएकोबारे प्रहरीलाई खबर गरे पनि समयमै खोजबिन नगरेको आरोप स्थानीयहरूको छ। उनीहरूले पूर्वपश्चिम राजमार्गको गड्यौलीमा ट्रक र ढुंगामुढा तेर्साएर अवरोध गरेका छन्।

उनीहरूले भण्डारीको शव नबुझ्ने बताएका छन्। प्रहरीले घटना सामसुम पार्न खोजेको आरोप स्थानीयको छ।

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीले भण्डारीको शव भिरालो जमिनको लहरोमा अड्किएको अवस्थामा फेला परेको बताए।

शव भेटिएको स्थान नजिकै स्प्राइटको बोत्तल फेला परेको छ। उक्त बोत्तलमा पतेरालाई मार्न प्रयोग हुने विष फेला परेको छ। भण्डारीले सो विष सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

उनी असार ११ देखि हराइरहेकी थिइन्। उनलाई अपहरण गरेको हुन सक्ने परिवारको भनाइ थियो। उनीहरूले प्रहरीमा निवेदन पनि दिएका थिए।

प्रहरीले अपहरण भएको भन्ने पाटोबाट पनि अनुसन्धान जारी राखेको जनाएको छ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार शव फेला परेको स्थाननजिकै झोला च्यातिएको अवस्थामा फेला परेको छ।

भण्डारीको चार जना दिदीबहिनी छन्। उनीहरूको पारिवारिक अवस्था कमजोर छ।