वि.सं.२०८२ वैशाख ९ मंगलवार

वैज्ञानिक रूपमा निषेधाज्ञा खोल्ने बेला भएको थिएन- डा. लक्ष्मण भुसाल

काठमाडौं । सरकारले जारी निषेधाज्ञा खुकुलो बनाउने कदम लिएको छ। यसको पछाडि हेर्ने हो भने पछिल्लो ६ महिना हामीले निकै गाह्रो अवस्था भोगेका छौं। हिजो आजको दिनमा काठमाडौंमा संक्रमितको संख्या थोरै घटेको छ। तर बाहिरी जिल्लामा २५ देखि ४० प्रतिशतसम्म पोजेटिभ देखिइरहेको छ।

हरेक टोल र घरमा एउटा-एउटा केस बाँकी थियो। विस्तारै निषेधाज्ञा खुल्दै गर्दा केस बढ्न थालेको छ। निषेधाज्ञा खुलेपछि अब विस्तारै संक्रमण बढ्नसक्छ। त्यसैले मास्क, स्यानिटाइजर र भौतिक दुरीमा ध्यान दिनुपर्छ। हामीले अझै सतर्कता अपनाउन जरूरी छ।

हामीसँग भएको अचुक औषधि भ्याक्सिन हो। तर भ्याक्सिन स्वास्थ्यकर्मीलेसमेत लगाउन सकेका छैनन्। ३ करोड जनसंख्यामा १० प्रतिशतलाई पनि भ्याक्सिन दिन सकिएको छैन। ७०,८० प्रतिशतले भ्याक्सिन पाउनुपर्ने थियो। तर आजको दिनमा कहिले भ्याक्सिन आउँछ भनेर सरकारलेसमेत भन्न सकेको छैन।

अमेरिका, बेलायतमा मास्क नलगाई हिँड्ने अवस्था भ्याक्सिनकै कारण भएको हो। भ्याक्सिनको विकल्प लकडाउनत होइन। तर हामीसँग अरू उपाय नभएर त्यस्तो गरेको हो। त्यसैले मास्कको प्रयोग गर्ने, नियमित हात धुने, भिडभाडमा नजानुनै उत्तम उपाय हो।

निषेज्ञाज्ञा चाडै खुलेको हो। वैज्ञानिक रूपमा खोल्ने बेला भएको थिएन। तर मजदुरी गर्नेलाई लकडाउन भन्दा खानाले समस्या पार्ने भयो। हामीले पहिलानै तयारी गर्न नसकेकाले अहिलेको अवस्था आएको हो। अस्पतालमा बेड थप्ने, जनशक्ति थप्ने काम भएन भने अझै अफ्ठ्यारो पर्छ। थर्ड वेभले यो भन्दा बढी समस्या पार्नसक्छ।

एकातिर पोष्ट कोभिडको समस्या देखिन थालेको छ। अर्कोतिर संक्रमित पनि बढ्दै गएका छन्। यसैले हामी सतर्क हुन जरूरी छ।

महामारी हल्ला गरेर आउँदैन। यो आकस्मिक रूपमा आउने हो। त्यसैले यसको तेस्रो वेभ आयो भने हामीलाई अझै धेरै नोक्सान हुनसक्छ। हामीले बेलैमा यसको तयारी गर्नुपर्छ।