वि.सं.२०८२ वैशाख १० बुधवार

रौतहटको नदीहरूमा पानीको सतह आजदेखि क्रमश

रौतहट । अविरल वर्षासँगै पछिल्लो दुई दिनदेखि लगातार बढ्दै गएको रौतहटको नदीहरूमा पानीको सतह आजदेखि क्रमशः घट्न थालेको छ । जिल्लाको पूर्वी भेग स्थित बागमती र पश्चिम लालबकैया नदीका साथै साना साना खोलाहरूमा समेत आज बिहानै देखि पानीको सतह घटिरहेको देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बागमती नदीमा पानी को सतह ६५० मिलिलिटर र बकैया नदीमा पनि अन्दाजी साढे ५ फिट पानीको सतह बढेको थियो । तर शुक्रबार आज बिहानको मापन अनुसार बागमती ५५० मा मिलिटर र लालबकैया नदीमा अन्दाजी ५ फिट पानीको सतह रहेको रौतहटका सिडिओ इन्द्रदेव यादवले बताएका छन् ।

अन्य खोलाहरू चांदी, झांझ, गुजरा लगायतमा पानीको सतह घटिरहेको अवस्था रहेको सिडिओ यादवले जानकारी दिएका छन् । बागमती नदीमा ५०० मिलिमिटर भन्दा बढी पानीको बहाव देखिएमा त्यसलाई खतराको सङ्केत मानिने हुँदा अब क्रमशः खतरा कम हुँदै गएको छ ।

यसैबीच लगातारको बाढीले क्षतिग्रस्त बनाएको बागमतीको १ नम्बर स्पर नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले गए राती मर्मत गरेको छ । राजदेवी नगरपालिका ९ स्थित कटान हुन लागेको स्पर संयुक्त टोली र स्थानीय मिलेर बाँस पाईलिङ गरी बोराभित्र बालुवा राखेर तत्काल मर्मत गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहले बताए।

नदीहरूमा पानीको बहाव कम भएपछि जिल्ला सदरमुकाम गौर स्थित मुख्य बाटोमा अदालतको अगाडि डेढ फिट पानी जमेको छ । मुख्य बाटोमा पानी जमेकाले आवतजावत गर्न ठुलो कठिनाइ भइरहेको  बताए।

जिल्लाको पूर्वीभेगमा बागमती र पश्चिममा लालबकैया नदीमा ठुलो बाढी आएमा दक्षिणी भेगका केही गाउँ र सदरमुकाम गौर डुबानमा पर्ने गर्दछ ।