वि.सं.२०८२ माघ ३ शनिवार

आईसूयीमा उपचाररत ६२ वर्षीय पुरुषको शनिबार राति कोरोना संक्रमणबाट मृत्यु,कोरोरा भगाउने तागत भएका पुरुषको कोरोनाबाट मृत्यु

khanepani

पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति धर्म प्रवर्तक भएको पाइएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आईसूयीमा उपचाररत ६२ वर्षीय पुरुषको शनिबार राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो । रुघाखोकी लागेर साउन १६ गते पोखराको ओम अस्पताल र पश्चिमाञ्चल क्षेत्त्रीय अस्पताल पुगेका उनलाई कोरोना संक्रमण भएको साउन १७ गते पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि हुनुभन्दा केही दिनअघिमात्र उनले घरमै ‘सच्चाई कार्यक्रम’ गर्दै आएको पाइएको छ । ‘कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति पोखरा–१९ लामाचौरको एक सच्चाईको प्रमुख भएको खुलेको छ,’ वडाध्यक्ष शोभामोहन पौडेलले भने, ‘उनको सम्पर्कमा आउने थप व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दैछौं ।’

कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका ६७ जनाको स्वाब परीक्षण गरिएको थियो, जसमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु सच्चाईका अनुयायी र उनको परिवार भएको वडाध्यक्ष पौडेलले जानकारी दिए । ‘उनको घरमा सच्चाईमा सहभागी हुन जाने ६ जनालाई कोरोना देखियो,’ वडाध्यक्ष पौडेलले भने, ‘आजमात्र पनि ३० जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दैछौं ।’

‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ नामक धार्मिक अभियानको लामाचौर शाखाका प्रमुख रहेका उनले आफूसँग कोरोना भगाउने तागत भएको बताउने गरेको स्थानीयहरु बताउँछन् । ‘उहाँले मसँग कोरोना भगाउने तागत छ भन्नुहुन्थ्यो । लकडाउनको समयमा पनि घरमै बोलाएर सच्चाईको कार्यक्रम गर्नुहुन्थ्यो,’ उनले भने, ‘उहाँलाई कोरोनाले ज्यान लियो ।’

उनको परिवारका सदस्यहरु हङकङमा छन् । तर उनी सच्चाई प्रवर्तक भएकै कारण पोखरामा बस्दै आएका थिए । ‘घरमा सच्चाईको कार्यक्रम गर्ने, मसँग कोरोना भगाउने तागत छ भन्ने गरेको खुल्न आएको छ,’ वडाध्यक्ष पौडेलले भने, ‘जब उहाँलाई कोरोना संक्रमण पुष्टि भयो, तब सन्त्रास फैलियो ।’

हङकङ जाने तयारीमा थिए

संक्रमित व्यक्तिका परिवार हङकङ बस्दै आएका छन् । उनका २ छोरी र श्रीमती हङकङमै बस्दै आएका छन् ।

उनी पनि हङकङ जाने तयारीमा थिए । ‘कोरोना संक्रमण नदेखिएको भए यतिबेला उहाँ हङकङ जाने कार्यक्रम रहेछ,’ वडाध्यक्ष पौडेलले भने, ‘रुघाखोकीले ग्रस्त भएर अस्पताल गएको ९ दिनपछि कोराले उहाँको ज्यान नै लियो ।’ परिवारले उनलाई हङकङमै बस्न आग्रह गरे पनि सच्चाईका प्रमुख भएका कारण उनले घरमै बस्नुपर्ने बताउँदै आएको स्थानीयले बताए ।