वि.सं.२०८२ कात्तिक ३० आइतवार

भैरहवा परासी सडकखण्डमा कार दुर्घटना, तीन जनाको मृत्यु

khanepani

रुपन्देहि । भैरहवा परासी सडकखण्डमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

परासीबाट भैरहवातर्फ आउँदै गरेको कार शुक्रबार राति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा ३ जनाको मृत्यु भएको हो।

रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नं.को कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार कार सडकबाट १० मिटर तल खसेको छ।

उक्त कारमा सवार ४ जना घाइतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

मृत्यु हुने ३ जना मध्ये १ जनाको मात्र पहिचान खुलेको छ।

दुर्घटनामा परि रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीको मृत्यु भएको हो। चौधरी कारका चालक हुन्।

घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय अनिल यादव रहेको प्रहरीले जनाएको छ।