वि.सं.२०८२ वैशाख ६ शनिवार

सुदूरपश्चिम सरकारकी प्रवक्ता भन्छिन्, अहिले मुख्यमन्त्री फेर्दा अस्थिरता हुन्छ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता पूर्णा जोशीले तत्काल सरकार परिवर्तन उपयुक्त नरहेको बताएकी छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेकी माधव नेपालपक्षीय नेतृ जोशीले अहिले सरकारको परिवर्तनको विषय ल्याएर थप अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताइन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नु भएको छ उनले भनिन्, ‘अब एक बर्ष सरकार परिवर्तनको विषय उपयुक्त होइन ।’

जोशीले सभामुखलाई राजीनामा दिन लगाएर थप संकट पैदा गर्न खोजिएको बताएकी छन् । ‘मुख्यमन्त्री बनाउने भए दलको नेता हुनुहुन्थ्यो । त्यो बेला कुनै कुरा आएन । अहिले सभामुखलाई राजीनामा गराउने कुरा गरेर थप समस्या निम्त्याउन लागिएको छ,’ जोशीले भनिन् ।

जोशीले भनिन्, ‘सभामुखलाई दलको नेता बनाउने विषयमा पनि दलको बैठकमा पनि कुरा होला । त्यहाँ सहमति भएन भने के गर्ने ? सभामुख आउनेवित्तिकै दलको नेता मान्छन् भन्ने पनि त होइन । ’

मुख्यमन्त्रीले विश्वासको मत लिनु भन्दाअघिल्लो दिन सम्म एमालेको नेतृत्वमा सरकार बनाउन दुवै पक्षबीच गम्भीर छलफल नभएको उनको भनाइ छ ।

‘माओवादीलाई छोड्न लगाउने, मन्त्रालयको कार्य विभाजन गरौँ भन्ने कुरा कहिल्यै आएन’ उनले भनिन् ‘त्यस्तो प्रस्ताव आएको भए त्यसमा छलफल हुने थियो ।
सुदूरपश्चिम प्रदेशमा त्यसो भए एमाले एक ठाउँमा नआउने हो त ?प्रश्नमा मन्त्री जोशीले भनिन्, ‘जेठ २ मा फर्किने अवस्था आएपछि सबै समाधान हुन्छ । मेरो गोरुको बारै टक्का गर्दा मिल्न सक्ने अवस्था नै हुँदैन ।’

५२ जना प्रदेशसभा सदस्यहरू रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखसहित एमालेका २५ सांसद छन् । सभामुख अर्जुनबहादुर थापालाई राजीनामा गर्न लगाएर जसपासँग मिलेर सरकार गठन गर्ने विषयमा एमालेभित्र छलफल चलिरहेको छ ।