काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे ओली–प्रचण्ड–खनाल भेटवार्ताको तेस्रो पटक बैठक बस्यो । बैठकको सुरुमै प्रचण्ड र झलनाथ खनालले लगानी बोर्डमा विचौलियालाई नियुक्त गरिएको भन्दै प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गरे।
सिंगै पार्टीको छवि धमिलो हुने गरी विवादास्पद व्यक्तिलाई बोर्डमा नियुक्त गरिएको भन्दै झलनाथ र प्रचण्ड दुबै नेताले असन्तुष्टि पोखे ।
तर, प्रधानमन्त्री ओलीले सुशील भट्ट योग्य, सक्षम रहेको र प्रतिस्पर्धाबाट जाँच पास गरेर सीईओ बनेको भन्दै नियुक्तिको बचाऊ गरेपछि केहीबेर नेताहरुबीच चर्काचर्की समेत भयो ।
विगतमा प्रधानमन्त्री ओलीले यति समूहलाई गोकर्ण रिसोर्टको लिज अवधि थप गर्दा बचाऊ गरेजस्तै भट्टको पनि बचाउ गरेर आफुले राम्रो काम गरेको स्पष्टिकरण दिन खोजे ।
समाचार स्रोतले बतायो, ‘भेटवार्ताको सुरुमै अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालले बिचौलियाको नियुक्तिमाथि प्रश्न उठाउनुभयो, प्रधानमन्त्रीले उनको बचाऊ गर्नुभयो ।’
सोमबारको मन्त्रिपरिषद बैठकले विवादास्पद पृष्ठभूमिका भट्टलाई लगानी बोर्डको सीईओ बनाउने निर्णय गरेपछि पार्टीभित्रैबाट पनि सरकारको निर्णयको चर्को विरोध भइरहेको छ ।
सोमबारको क्याबिनेटबाट प्रधानमन्त्री ओलीकै प्रस्तावमा भट्टलाई नियुक्त गरिएको थियो ।
स्रोतका अनुसार प्रचण्ड र खनालले आगामी दिनमा पार्टीलाई जानकारी नदिई मनपरी ढंगबाट नियुक्तिहरु नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी समेत दिए ।
भट्टको नियुक्तिबारे वाद–प्रतिवाद सकिएपछि स्थायी कमिटीको बैठक गर्ने कि सचिवालयको बैठक बस्ने भन्ने विषयमा नेताहरुबीच निश्कर्षहीन छलफल भयो ।
प्रधानमन्त्री एवं अध्यक्ष ओली, कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेतको सहभागितामा तीन दिनदेखि लगातार बालुवाटारमा छलफल हुँदै आइरहेको छ ।
छलफलका क्रममा प्रचण्ड र खनालले स्थायी कमिटीको बैठकलाई टुंगोमा पुर्याउनुपर्ने बताएका छन् भने प्रधानमन्त्री ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी दुबै बैठक नराख्ने अडान राख्दै आएका छन् ।
पार्टीको बैठकबाट बारम्बार भाग्दै आएका प्रधानमन्त्री ओलीले पछिल्लो समय कोरोना संक्रमणको जोखिमका कारण स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राख्न नहुने तर्क गर्न थालेका छन् ।
मंगलबार दिउँसो बालुवाटारमा आयोजित विज्ञसँगको छलफलको प्रारम्भमै प्रधानमन्त्री ओलीले राजनीतिक विषयमा चर्चा गर्दै भने, ‘२५ जनाभन्दा बढी जम्मा हुन दिएका छैनौं, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटीको बैठक तुरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो ? के गर्ने हो, सोच केही छैन । स्थायी कमिटी अहिले बस्नुपर्यो, भरे बस्नु पर्यो, भन्ने वाहेका केहि छैन ।’
विज्ञसँगको छलफल सकिएपछि प्रचण्ड र झलनाथ खनालसँगको छलफलमा पनि प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकको विपक्षमा कडारुपमा प्रस्तुत भए । उनले स्थायी कमिटीको साटो सचिवालयको बैठक राख्नुपर्ने हिजोकै अडान दोहोर्याए ।
‘आज पनि प्रधानमन्त्रीज्यू स्थायी कमिटीको बैठक राख्न सहमत हुनुभएन,’ मंगलबारको छलफलबारे जानकारी दिँदै स्रोतले भन्यो, ‘भोलि बुधबार साँझ ५ बजे फेरि बालुवाटारमा छलफल गर्ने सहमति भएको छ ।’









































