वि.सं.२०८२ वैशाख ९ मंगलवार

ताप्लेजुङमा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङका दुर्गम तथा हिमाली गाउँसहित सबै स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

कोरोना सङ्क्रमण गाउँ गाउँमा फैलिँदै गएको अवस्थामा हिमालयन डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलिया लगायतका संस्थाले स्वास्थ्य सामग्रीहरु वितरण गरेको हो । जिल्लाको नौ वटै स्थानीय तह र दुर्गम हिमाली गाउँहरु ओलाङ्चुङगोला, घुन्सा र पापुङलाई उक्त स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ ।

हिमालयन डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलिया एचडीएफए का नेपाल प्रतिनिधि मिङ्माडण्डु शेर्पाका अनुसार प्रयाप्त स्वास्थ्य पहुँच नभएको दुर्गम तथा विकट क्षेत्र फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोला र मिक्वाखोला गाउँपालिका ५ पापुङका लागि एक एक थान अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

यस्तै दुर्गम गाउँ फक्ताङ्लुङ गाउँपालिका ६ लेलेपको घुन्सालाई अक्सिजन कन्सन्ट्रेटर बाहेकका स्वास्थ्य सामग्री उपलब्ध गराएको शेर्पाले बताए। दुर्गम गाउँहरु ओलाङ्चुङगोला र पापुङका लागि स्थानीय स्वास्थ्य चौकीमार्फत प्रयोग गर्नेगरी अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ उक्त दुईवटा गाउँ र घुन्सा समेतलाई भिटामिन–‘सी’, भिटामिन–‘डी’, जिङ्क लगायत विभिन्न एन्टिबायोटिक औषघि उपलब्ध गराएको शेर्पाले जानकारी दिए ।

यस्तै सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका र आठ वटा गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । बाँकी स्थानीय तहलाई भने अक्सिजन कन्सन्ट्रेटर बाहेकका स्वास्थ्य सामग्री मात्र उपलब्ध गराइएको शेर्पाले जानकारी दिए ।

जिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई वितरण गरिएका स्वास्थ्य सामग्रीहरुमा १० हजार थान सर्जिकल मास्क, सेनिटाइजर २५० लिटर, ह्यान्ड सेनिटाइजर १०० एमएलको ५०० थान, टप ग्लोब्स पञ्जा ५० बट्टा रहेका छन् । त्यस्तै पीपीई सेट स्पेशल ५० थान, थर्मलगन ४५ थान, अक्सिमिटर ४५ थान, फेस सिल २०० थान, एन–९५ मास्क ५०० थान र अन्य भिटामिन, एन्टिबायोटिक औषधि रहेका छन् ।

हिमालयन डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलियाको सहयोगमा प्राप्त उक्त स्वास्थ्य सामग्री सबै स्थानीय तहललाई समान रुपमा वितरण गरिएको हो । सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पताललाई तीन थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ ।