काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी विपद्लगायतका घटनालाई अन्तर्राष्ट्रियकरण गर्दा आवश्यक प्रमाण र दाबीसहित सिङ्गो विश्वको ध्यानाकर्षण गराउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएको छ।
सोमबार सिंहदरबारमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री शाहलाई भेटेर पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनको असरका विषयमा तयार पारेको अवधारणा पत्र बुझाएका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जानुअघि प्रधानमन्त्रीको साथमा सिङ्गो देश, सम्पूर्ण नेपाली र प्रमुख प्रतिपक्षी दल एकजुट रहेको बलियो सन्देश दिन खोजिएको उपसभापति शर्माले बताए। जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्दा आवश्यक प्रमाण र दाबीसहित सिङ्गो विश्वको ध्यानाकर्षण गराउन आग्रह गरिएको उनले जानकारी दिए।
नेपालले विश्वको १ प्रतिशत भन्दा पनि कम कार्बन उत्सर्जन गर्दा पनि ठूलो विपद् र क्षति बेहोर्नुपरेको विषय महासभामा उठाउन सुझाइएको छ। यस्तै नेपालले न्यून कार्बन उत्सर्जन गर्ने सम्पूर्ण साना राष्ट्रहरूको नेतृत्व लिनुपर्ने र सन् २०१५ को पेरिस सम्झौता कार्यान्वयनका लागि ठूला राष्ट्रहरूसँग कूटनीतिक चातुर्यका साथ गहन संवाद गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ।
औपचारिक सम्बोधन मात्र नभई साइडलाइन वार्ता, लबिङ र मुभमेन्टमार्फत नेपालको पक्षमा विश्वव्यापी ऐक्यबद्धता जुटाउन आग्रह गरिएको उपसभापति शर्माले बताए। छलफलका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घमा प्रस्तुत गर्ने दस्तावेज विज्ञहरूको गहन सुझाव र तथ्यमा आधारित बनाएको जानकारी गराएका थिए।







































