वि.सं.२०८३ असोज ४ आइतवार

सभापति पूर्णबहादुर खड्काले भने, ‘यो महाधिवेशनको कुनै पनि प्रक्रियामा मेरो सहभागिता छैन, रहने छैन’

प्रतिनिधिसभा निर्वाचनमा पनि यही कारणले आफू उम्मेदवार नबनेको उल्लेख गर्दै खड्काले अहिले फेरि त्यस्तै परिस्थिति दोहोरिएकाले महाधिवेशनमा सहभागी नहुने निर्णय लिएको बताए ।

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशनमा आफू सहभागी नहुने बताएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आफूलाई लिएर भइरहेका विभिन्न टिप्पणीहरूको खण्डन गर्दै उनले आफ्नो अनुपस्थितिको कारण पनि सार्वजनिक गरेका छन् । खड्काले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतामाथि आफूहरूले सर्वोच्च अदालतमा प्रश्न उठाउँदै आएको स्मरण गराएका छन् ।

उनले लेखेका छन्, ‘विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमिति पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐन र सर्वोच्च अदालतले विगतमा प्रतिपादन गरेका नजिरविपरीत रहेको हाम्रो दाबी छ। यस्तो अवस्थामा सभापति गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु र अहिलेको महाधिवेशनमा सहभागी हुनु मेरो नैतिक मूल्य र मान्यताविपरीतको काम हो।’

गत प्रतिनिधिसभा निर्वाचनमा पनि यही कारणले आफू उम्मेदवार नबनेको उल्लेख गर्दै खड्काले अहिले फेरि त्यस्तै परिस्थिति दोहोरिएकाले महाधिवेशनमा सहभागी नहुने निर्णय लिएको बताए ।

उनले सर्वोच्च अदालतको डिभिजन बेन्चको निर्णयविरुद्ध आफूहरू पुनरावलोकनमा गएको र पूर्ण इजलासले मुद्दाको गम्भीरता बुझेर निस्सा दिएको भए पनि महाधिवेशन रोक्न जारी नगरिएको पछिल्लो आदेशले दुःखी तुल्याएको बताए । ‘सर्वोच्चबाट पुनरावलोकनको निस्सा दिइएको अवस्थामा पनि महाधिवेशन रोक्न आवश्यक नदेखिनुले नेपाली कांग्रेस दुईवटा महाधिवेशन हुने र विभाजनको डिलमा पुग्ने स्थिति सिर्जना भएको छ,’ खड्काले लेखेका छन् ।

देशको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबैभन्दा ठूलो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पार्ने उनको चिन्ता छ। ‘यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित छ, तैपनि हामी त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ,’ उनले लेखेका छन् ।

खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र माननीय न्यायाधीशहरूसँग अपिल गरेका छन् । उनले पार्टीको वैधानिकतासँग जोडिएको पुनरावलोकनको मुद्दालाई परिस्थितिको गम्भीरता बुझेर अग्राधिकार दिई यथाशीघ्र अन्तिम फैसला गरिदिन आग्रह गरेका छन् ।
अहिलेको अवस्थामा महाधिवेशनको प्रक्रियामा भाग लिनुलाई उनले चरम अनैतिक कार्य भन्दै आफू यस प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको पुनः दोहोर्‍याएका छन् ।

ranechhap