मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी मंगलबार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार इभीमा ८ जना सवार थिए । उनीहरूमध्ये ६ पुरुष र २ महिला रहेका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका ४ जनामध्ये ३ जनालाई उपचारका लागि काठमाडौँ र एक जनालाई हेटौँडा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार घटनास्थलमा प्रहरी र ट्राफिक टोली परिचालन गरिएको छ ।
मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।







































