वि.सं.२०८३ भदौ ३० मंगलवार

कोशी र नारायणीसहितका नदीमा बाढीको जोखिम: पहाडी तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव

khanepani

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले कोशी, नारायणी, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूमा जलसतह बढ्ने बताएको छ । महाशाखाले आगामी तीन दिनसम्म अधिकांश प्रमुख नदीमा जलसतह बढ्ने सम्भावना रहेको बताएको छ ।

पूर्वानुमानअनुसार कोशीअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायत नदीमा आज, भोलि र पर्सि जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । नारायणीअन्तर्गत नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती तथा कालीगण्डकीलगायत नदीमा पनि तीन दिनसम्म जलसतह उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।

कर्णाली नदी प्रणालीअन्तर्गत कर्णाली, कर्णाली–असाराघाट, भेरी र पश्चिम सेतीमा जलसतह सामान्य रूपमा बढ्ने पूर्वानुमान छ । महाकालीअन्तर्गत महाकाली नदी, कन्काईअन्तर्गत कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदीमा पनि जलसतह सामान्य रूपमा बढ्ने सम्भावना रहेको केन्द्रले जनाएको छ ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्लामा बग्ने स–साना नदीमा बहाव उल्लेख्य बढ्न सक्नेछ । ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमसमेत रहेको पूर्वानुमान गरिएको छ ।

भोलि सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेश भएर बग्ने केही स–साना नदीमा बहाव अचानक बढ्न सक्ने केन्द्रले जनाएको छ । पर्सि भने कोशी र मधेश प्रदेश भएर बग्ने केही स–साना नदीमा बहाव अचानक बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखालेले नदी तथा खोलानालाको आसपास बसोबास गर्ने र यात्रा गर्ने सर्वसाधारणलाई जलसतह तथा बहावमा हुने परिवर्तनप्रति सतर्क रहन आग्रह गरेको छ । विशेषगरी आज उल्लेख गरिएका पहाडी तथा आसपासका जिल्लामा स–साना नदी र खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ ।

ranechhap