काठमाडौँ । युक्रेनको पोल्यान्ड सीमा नजिकै रहेको रेलमार्गमा आइतबार रुसी ड्रोनले आक्रमण गरेको छ । पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन र पूर्व स्विडिस प्रधानमन्त्री कार्ल बिल्ड्टसहित युरोपेली नेताहरूको उच्चस्तरीय टोली सोही रेलमार्ग हुँदै पोल्यान्ड प्रवेश गरेको केही समयमै आक्रमण भएको हो ।
फाइनान्सियल टाइम्सका अनुसार किभमा आयोजित वार्षिक सम्मेलनमा सहभागी भएर विशेष चार्टर रेलमार्फत फर्किरहेका प्रतिनिधिहरू पोल्यान्डको दोरोहुस्कमा ओर्लिएका थिए। त्यसलगत्तै पोल्यान्ड सीमाबाट करिब पाँच किलोमिटर टाढा रहेको युक्रेनको याहोदिन स्टेसनमा रोकिएको रेलमा ड्रोन प्रहार भएको थियो। आक्रमणअघि नै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएकाले कुनै मानवीय क्षति नभएको अधिकारीहरूले जनाएका छन् ।
सोही स्टेसनमा रहेको अर्को रेलमा सवार पूर्व सीआईए निर्देशक डेभिड पेट्रियसले आफू घटनास्थल नजिकै रहेको बेला आक्रमण भएको जानकारी दिएका छन् । पूर्व स्विडिस प्रधानमन्त्री बिल्ड्टले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सुरक्षा प्रणाली प्रभावकारी रहेकाले सबै सुरक्षित रहेको बताए । पूर्व बेलायती प्रधानमन्त्री जोनसनले घटनाको निन्दा गर्दै युक्रेनी नागरिकले दैनिक यस्तै अन्धाधुन्ध आक्रमण झेलिरहेको उल्लेख गरे र पश्चिमा मुलुकहरूलाई युक्रेनको सहयोगमा गम्भीर हुन आग्रह गरे ।
आक्रमणपछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले उच्च सुरक्षा अधिकारीहरूको आपत्कालीन बैठक बोलाएका छन् भने सीमा क्षेत्रमा आफ्ना लडाकु विमानहरू परिचालन गरेका छन् । पोल्यान्डको हवाई सुरक्षा प्रणालीलाई उच्च सतर्कतामा राखिएको रक्षामन्त्री व्लादिस्लाव कोसिन्याक–कामिस्जले बताए ।
युक्रेनी विदेशमन्त्री आन्द्रेइ सिबिहाले यस घटनालाई ‘पुटिनको आतंक नेटो र ईयूको ढोकामै आइपुगेको’ टिप्पणी गर्दै रुसमाथि थप कडा प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन् ।







































