वि.सं.२०८३ भदौ २९ सोमवार

बाढीले भत्किएको कृष्णभीर खण्डको पुनर्निर्माण अन्तिम चरणमा, परीक्षण सफल

पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

khanepani

काठमाडौँ । त्रिशूली नदीको बाढीले क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सडक विभागले असोज १ गतेदेखि उक्त खण्डमा यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।

२०८३ भदौ १० र १४ गते आएको विनाशकारी बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसपछि सडक विभागले नयाँ मार्ग निर्माण तथा सडक पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गर्दै आएको छ ।

भदौ २८ गते निर्माणाधीन मार्गमा सवारीसाधन सञ्चालनको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा काठमाडौँबाट चितवनतर्फ ग्यास बोकेको एउटा बुलेटसहित करिब २० वटा सवारीसाधन तथा चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसहित केही हलुका सवारीसाधन सञ्चालन गरिएको थियो। परीक्षण सफल भएको विभागले जनाएको छ ।

तर सडक स्तरोन्नति र सुरक्षासम्बन्धी केही काम अझै बाँकी रहेकाले हाल कृष्णभीर खण्डबाट कुनै पनि सवारीसाधन सञ्चालन गर्न दिइएको छैन ।

सडक विभागका अनुसार बाँकी काम पूरा गरी असोज १ गतेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । त्यसअघिसम्म यात्रु तथा चालकले कृष्णभीर खण्डबाट आवागमन नगर्न विभागले आग्रह गरेको छ ।

सडक सञ्चालनमा नआएसम्म सम्बन्धित निकायबाट जारी हुने सूचना र वैकल्पिक मार्गसम्बन्धी निर्देशन पालना गर्न तथा सडक पुनर्निर्माणमा सहयोग गर्न विभागले सबै यात्रु, चालक र सरोकारवालालाई अनुरोध गरेको छ ।

ranechhap