गुल्मी । तीज मनाउन माइतीघर जाँदै गर्दा निस्सी खोलाले बगाउँदा गुल्मीमा एक महिला बेपत्ता भएकी छन् ।
मुसीकोट नगरपालिका–५, इन्द्रगौडाकी अन्दाजी २८/२९ वर्षीया कल्पना पुन आइतबार साँझ खोला तर्ने क्रममा बेपत्ता भएकी हुन् । उनी आफ्नै घरबाट इस्मा गाउँपालिका–४, हुलास्थित माइतीघरतर्फ तीज मनाउन जाँदै थिइन् ।
प्रहरीका अनुसार साँझ करिब ७ बजे निस्सी खोला तर्दै गर्दा उनलाई खोलाको तीव्र बहावले बगाएको थियो । स्थानीय बासिन्दाले घटनाबारे खबर गरेलगत्तै खोजी तथा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।
प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावत र प्रहरी चौकी पौदीअमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमान्डमा चार/चार जनाको टोली घटनास्थलमा खटिएको छ ।
दुवै चौकीको प्रहरी टोली र स्थानीय बासिन्दा मिलेर खोजी कार्यलाई तीव्रता दिए तापनि बेपत्ता पुनको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।







































