वि.सं.२०८३ भदौ २७ शनिवार

सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, चालकसहित चार घाइते

सिम्कबाट दाङ जाँदै गरेको बोलेरो सडकबाट खस्यो, एक बालकसहित दुईको ज्यान गयो

khanepani

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ज ०००५ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेकी १८ वर्षीया विपना बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर जिप चालक त्रिवेणी–५ सिम्कका २४ वर्षीय भुपाल पुन गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको छ।

त्यस्तै त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा, ५० वर्षीय डिल्लीबहादुर वली र त्रिवेणी–६ की ४२ वर्षीया लालमति बुढाथोकी मध्यम घाइते भएका छन्। उनीहरू सबैलाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

ranechhap