वि.सं.२०८३ भदौ २५ बिहीवार

नेकपा एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुँदै

khanepani

काठमाडौं । शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई फरक प्रतिवेदन पेश हुने भएको छ ।

यस अघि कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन पार्टी अध्यक्ष केपी ओलीसमक्ष पेश भइसकेको छ । तर, उक्त प्रतिवेदनमाथि छलफल गर्न कुनै बैठक बोलाइएको थिएन । बरु, प्रतिवेदनलाई पुनर्लेखन गर्न अध्यक्ष ओलीले संयोजक बादललाई नेता प्रदीप ज्ञवालीले सहयोग गर्ने गरी जिम्मेवारी तोकेका थिए ।

बादल र पोखरेलको सहकार्यमा तयार पारिएको प्रतिवेदन सार्वजनिक भएपछि उत्पन्न विविध प्रतिक्रियाका आधारमा पुनर्लेखन गरिएको अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले नेपाल प्रेसलाई बताएका छन् । सोही प्रतिवेदन भोलिको बैठकमा पेश हुने र छलफल चलाइने उक्त सचिवालयको दाबी छ । यद्यपि, पोखरेलले तयार पारेको प्रतिवेदन पनि पेश हुँदैछ ।

यसबारे नेपाल प्रेसले राखेको जिज्ञासामा महासचिव शंकर पोखरेलले आफ्नोसहित सहभागितामा तयार भएको प्रतिवेदन पेश हुने कुरामा कुनै प्रश्न गर्नुपर्ने अवस्था नभएको बताए । ‘बाहिर कसले के भनेको छ भन्ने कुरा थाहा भएन, पार्टीको निर्णय र निर्देशनमा हामीले तयार पारेको प्रतिवेदन पेश हुन्छ, त्यसैमा छलफल पनि हुन्छ’, उनले भने ।

पोखरेलसमेतको सहभागितामा तयार भएको प्रतिवेदनमा ओलीसहित नेतृत्वको बहिर्गमनलगायतका विषय समेटिएका छन् ।

उक्त प्रतिवेदन सार्वजनिक भएपछि त्यसलाई अध्यक्ष ओलीका तर्फबाट ‘परिमार्जन’ गरिएको थियो । बादल निकट स्रोतका अनुसार ओलीकै निर्देशनमा परिमार्जित प्रतिवेदन पेश हुने भएको छ ।

एमालेले गत जेठ ५ गते सचिवालयको आठौँ बैठकबाट उपाध्यक्ष बादलको संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, नेता प्रदीप ज्ञवाली र आठै प्रदेशका इन्चार्जहरू सदस्य छन् ।

कार्यदलको असार २५ गते सम्पन्न बैठकले संयोजक बादल र महासचिव पोखरेललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो । त्यसअघि कार्यदलले केन्द्रीय निकाय, विभाग, मोर्चा संगठन र आठ प्रदेशमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलनका लागि फरक फरक भेलाको आयोजना गरेको थियो । महासचिव पोखरेलले ती भेलाको निष्कर्षसहित प्रतिवेदन तयार पारेका थिए ।

ranechhap