काठमाडौँ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका ६ नयाँ रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन् ।
काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा बस सेवा विस्तार गर्न लागेका हुन्। बसहरू गोदावरी–बुढानीलकण्ठ, जगाती–रत्नपार्क–ठमेल, विमानस्थल–नागढुङ्गा, कीर्तिपुर–नयाँ सडक तथा चक्रपथलगायतका रुटमा सञ्चालन हुनेछन् ।
चक्रपथमा दुईतर्फी सेवा सञ्चालन भएपछि एक ठाउँमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न स्थानमा पुग्न सकिनेछ। यात्रुले अधिकतम ८० रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ ।
बैठकले रात्रिकालीन बस सेवा नगरपालिकाहरूको वित्तीय साझेदारीमा निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ । सेवा सञ्चालनका लागि आवश्यक रुट अनुमति सहज बनाउन यातायातसम्बन्धी कानुन संशोधनका लागि सरकारलाई अनुरोध गर्ने निर्णयसमेत भएको छ ।
यस्तै, रात्रिकालीन सेवा प्रभावकारी बनाउन स्थानीय तहले सार्वजनिक स्थलमा रातिसम्म मेला, महोत्सव तथा अन्य गतिविधि सञ्चालन गर्ने, बसको गन्तव्यमा चार्जिङ केन्द्र निर्माण तथा रात्रिकालीन बसपार्क व्यवस्थापनमा सहयोग गर्ने निर्णय भएको छ ।







































